News Desk
काठमाडौँ — मंसिर २२, २०७७।
पुरातत्व विभागले २४ वर्षदेखि युनेस्कोको विश्वसम्पदा सूचीको सम्भावित सूचीमा राखेको १५ सम्पदाहरूको हालसम्म सूचीकृत हुन सकेको छ । स्थानीय र सम्बन्धित जिल्लाको जनताको पहल नभएको कारण ती सम्पदाहरू विश्वसूचीमा समावेश हुन नसकेको हो ।
पुरातत्व विभाग विश्वसम्पदा संरक्षण महाशाखाका अनुसार सन् १९९६ र सन् २००८ मा गरी १५ सम्पदालाई सम्भावित सूचीमा समावेश गरिएको थियो । तीमध्ये अहिले कीर्तिपुर, पनौती र जनकपुरले सूचीकृत हुन प्रक्रिया गरिरहेका छन् । महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर डा सुरेशसुरस श्रेष्ठ करिब दुई दशकदेखि प्रक्रियामा गएता पनि हालसम्म खासै प्रगति हुन नसकेको बताए।
उनले भने–‘स्थानीय तहले प्रक्रिया अघि नबढाउँदासम्म विश्व सम्पदा सूचीमा सूचीकृत हुन सम्भव छैन । उहाँका अनुसार प्रक्रियामा प्रवेश गर्न दर्जनौँ योजना पेस गर्नुपर्छ । तीमध्ये पुरातात्विक क्षेत्रको संरक्षण, व्यवस्थापन, मौलिकता बिग्रन नदिने प्रतिबद्धता अनिवार्य हुन्छ ।
यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा लैजान्छु भन्दा सजिलै प्रवेश गराउन सकिँदैन कम्तीमा पनि दुई दर्जनभन्दा बढी प्रक्रिया पूरा गरेपछि मात्र सम्भव हुन्छ–विभागका सूचना अधिकारीसमेत रहेका महाशाखा प्रमुख डा श्रेष्ठले भने।
विकासको नाममा सांस्कृतिक, सामाजिक र ऐतिहासिक मौलिकता बिग्रन नदिई दशकौँ पहिला जस्तो संरचना छ त्यसैलाई कायम राख्ने ठोस निर्णय कार्यान्वयन भएपछि मात्रै विश्वसम्पदा क्षेत्रमा सूचिकृत हुन सक्ने डा श्रेष्ठको भनाइ रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।