सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै
News Desk
Dec-08 , 2020 तारिख 10:53 बिहान

काठमाडौं— मंसिर २३, २०७७।  

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने भएको छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जानकारी दिएको छ । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।

धेरै पढिएको