सपिङ मलको भाडा तिर्न विकल्प खोज्दै व्यवसायी
News Desk
Dec-08 , 2020 तारिख 04:40 बेलुका

काठमाडौं— मंसिर २३, २०७७।  

सपिङ मलको भाडा तिर्न नसक्दा व्यापारीहरूले सस्तो ठाउँमा सटर खोज्न थालेका छन् । कोरोना महामारी र बन्दाबन्दीको प्रभावका कारण व्यापार व्यवसाय खस्किएकाले भाडा तिर्न समस्या भएको भन्दै सपिङ मलभित्र व्यापार गर्ने व्यापारीहरू सस्तो ठाउँमा सटर खोजेर जान थालेका हुन् ।

महामारीको प्रभावका कारण काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूमा रहेका ठूला सपिङ मल र सुपर मार्केटहरूको व्यापार यति बेला करीब ७५ प्रतिशतले घटेको छ । व्यापार घटेर समस्यामा परेका व्यापारीहरू सपिङ मल र सुपर मार्केटहरूको महँगो भाडादरले थिचिएका छन् । त्यसैले जतिसक्दो चाँडो सपिङ मल छाडेर सस्तो ठाउँमा व्यापार गर्न जान पाए केही राहत महस्रस हुने विश्वासमा उनीहरू छन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी कोषाध्यक्ष सुषमा महाराका अनुसार मलहरूमा व्यापार गर्ने कतिपय व्यापारीहरू पलायन नै भएका छन् भने अधिकांश व्यापारी मल छाडेर सस्तो भाडादर भएका सटरहरू खोज्दै जाने क्रम बढेको छ ।

‘६ महीना लामो बन्दाबन्दीका कारण व्यापार ठप्प भए पनि व्यापारीले भाडा तिरे, अहिले पनि व्यापार छैन । कति महीनासम्म घाटा खाएर व्यापार गर्नुपर्ने हो थाहा छैन । त्यसैले व्यापारीहरू मल छाडेर व्यापारका लागि सस्तो ठाउँ खोज्न बाध्य भएका हुन्,’ उनले भनिन् ।

व्यापारीहरूलाई बचाउनु मल सञ्चालकहरूको पनि जिम्मेवारी भएकाले घाटा पक्षलाई दुवै मिलेर सामना गर्नुपर्ने महराको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Related Post