चन्द समूहद्वारा माेरङमा शिक्षकको गाेली हानी हत्या
News Desk
Dec-08 , 2020 तारिख 11:23 बिहान

विराटनगर — मंसिर २३, २०७७।  

मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमिते खोलाका एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ। हत्यामा नेत्रविक्रम चन्द नेतृत्वको संगठनका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान हत्या भएको हो ।

बिहानै उनको घर पुगेका चन्द समूहका केही कार्यकर्ताले उनलाई अपहरण गरेर जंगलतिर लगेको प्रहरीले जनाएको छ।

परिवारले खोजी गर्ने क्रममा घरभन्दा पर जंगलमा उनी मृत अवस्थामा फेला परेका थिए । उनको शव टाउकामा गोली हानिएको अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारले घटनाबारे जानकारी दिएपछि त्यसतर्फ टोली खटाइएको मोरङ प्रहरीले जनाएको छ। हत्याको कारण खुलेको छैन । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घटनामा संलग्नहरुको खोजी भइरहेको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको