वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
News Desk
Dec-25 , 2020 तारिख 11:12 बिहान

काठमाडौँ — पुस १०, २०७७। 

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव हालेका हुन् । 
उनीहरू प्रदेशसभा सचिवालय पुगेर बिहान ११ः२५ मा हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावकमा शालिकराम जमकट्टेल छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका उनी पदबाट राजीनामा दिएर अविश्वास प्रस्ताव दर्ता गराउन गएका हुन् ।

त्यस्तै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलालले पनि पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । यसअघि स्थायी राजधानी घोषणा, बजेटको समयमा समेत मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर भए पनि दर्ता भएको थिएन । मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको