हुम्लाः बहुपति प्रथाबाट आजित युवती गाउँ फर्कन मानेनन्, केटालाई विवाह गर्न कठिन
News Desk
Dec-27 , 2020 तारिख 07:50 बिहान

हुम्ला - पुस १२

हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ । जिल्लाबाट  बाहिर  विशेषगरी  काठमाडौँ  र  भारतमा  यहाँबाट अध्ययन  गर्न  गएका  युवती  गाउँ  फर्कन  इच्छुक नभएपछि  केटालाई  विवाह  गर्न  समस्या  पर्न  थालेको हो । नाम्खा  गाउँपालिका–६  को  हिमालपारिको  गाउँ लिमीका हल्जी गाउँका स्थानीय सोन्दोर्जी तामाङले लिमीमा केटालाई विवाह गर्न समस्या हुन थालेको बताए ।

उनले  सानैमा  जिल्लाबाहिर  जाने  तथा  गुम्बामा  ‘टोपेनी’  हुन जाने  युवतीले  गाउँमा  आउन  नमानेपछि  केटालाई  विवाहको  समस्या हुन थालेको उल्लेख गरे  । पहिले गाउँमा बहुपति प्रथाका कारण केटी अविवाहित बस्नुपर्ने अवस्था  थियो । अहिले  भने  जिल्लाबाहिर  गएका  युवती  गाउँ फर्कन  नमानेका  कारण  युवालाई  विवाहको  समस्या  पर्न  थालेको स्थानीयवासीको भनाइ छ ।

लिमीमा  प्रचलित  ‘बहुपति  र  नेलु  प्रथा’बाट  आजित  भएका युवतीहरू बुझेर नै यी प्रथाप्रति वितृष्णा व्यक्त गर्न थालेको स्थानीय राङ्डोल तामाङले बताए ।  यही  समस्याबाट  मुक्ति  पाउन  लिमी  गाउँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन नमान्ने उनले जानकारी दिए ।  गाउँमा आए बहुपति प्रथा स्वीकार गर्नुपर्ने, यो नस्वीकारे नेलु स्वीकार गरेर बस्नुपर्ने अवस्था छ  ।

दुवै प्रथा  विकृति  हुन्  भन्ने  बुझेका  युवतीहरू  गाउँमा  आए  समस्या  हुने भएपछि गाउँ आउनै नमान्ने बिना तामाङले बताइन् ।  युवती  गाउँमा  नआएपछि  केटालाई  विवाह  गर्न  समस्या भइरहेको  वडाध्यक्ष  पाल्जोर  तामाङले  बताए ।  लिमीका  १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

धेरै पढिएको