सुन्तलाको भाउ अहिलेसम्मकै उच्च
News Desk
Jan-15 , 2021 तारिख 02:07 बेलुका

सोलुखुम्बु - माघ २

सोलुखुम्बु, सोलुखुम्बुमा सुन्तलाको भाउ अहिलेसम्मकै उच्च भएको छ । अहिले प्रतिकेजी सरदर १२० रुपियाँसम्म सुन्तलाको खरिद बिक्री भइरहेको छ ।
अघिल्ला वर्षहरूमा प्रतिकेजी ६० देखि ७० रुपियाँ केजीमा बिक्री भएको सुन्तला यो वर्ष बढेर एक सय रुपियाँदेखि १२० रुपियाँसम्म पुगेको व्यापारीले बताएका छन् । सुन्तला उत्पादनमा भारी गिरावट आएपछि मूल्य वृद्धि भएको स्थानीय कृषक बताउँछन् ।

जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्र थुलुङ दूधकोसी, नेचासल्यान र माप्यदूधकोसी गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला उत्पादनमा गिरावट आएको हो । विगतको तुलनामा सुन्तला उत्पादनमा करिब ७५ प्रतिशत कमी आएकाले जिल्लामा सुन्तलाको भाउ अझै बढ्न सक्ने थुलुङ दूधकोसी गाउँपालिकाको देउसा रनेमका रामकुमार राईले बताए ।

सुन्तलामा कीरा पर्नुका साथै बढी वर्षा भएकाले समस्या भएको अर्का कृषक सविन राईको भनाइ छ । केही वर्षदेखि सोलुखुम्बुमा सुन्तला जोन क्षेत्र नै निर्माण गरेर काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सम्पर्क कार्यालय सोलुखुम्बुले प्रभावकारी रूपमा किसानको समस्या समाधान गर्न नसक्दा सुन्तला किसासलाई मर्का परेको उत्पादक किसानको गुनासो छ ।गोरखापत्र दैनिकबाट

Related Post