नेपाली कम्पनीलाई प्राथमिकता दिन निर्देशन
News Desk
Jan-18 , 2021 तारिख 01:30 बेलुका

काठमाडौं - माघ ५

काठमाडौं, नेपाल राष्ट्र बैंकले सामान आयात गर्दा बीमा र ढुवानीका लागि सम्भव भएसम्म नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

नेपालका यस्ता कम्पनीलाई प्रोत्साहन गर्न सम्बन्धित सरोकारवालालाई यस्तो निर्देशन दिइएको हो । भारतबाहेक अन्य मुलुकबाट सीआईएफ बाहेकका मूल्यमा प्रतीतपत्र मार्फत आयात गर्दा यो व्यवस्था लागू हुने केन्द्रीय बैंकले बताएको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०७६ लाई संशोधन गर्दै सामान आयात गर्दा बीमा र ढुवानी सेवा नेपालको कम्पनीबाट लिन व्यवस्था गरेको हो ।

आयात गरिने वस्तुको बीमा नेपाली कम्पनीबाटै गर्न पहिलेदेखि नै राष्ट्र बैंकले भन्दै आएको थियो । अहिले भने ढुवानी गर्दा पनि नेपालकै कम्पनीलाई प्रोत्साहन गर्न खोजिएको राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

तर यो व्यवस्थालाई केन्द्रीय बैंकले अनिवार्य भने गरेको छैन । ‘बीमा गर्दा नेपालको बीमा कम्पनीले मात्र धान्न नसक्ने भएकाले सम्भव भएसम्म प्राथमिकता दिन भनेका हौं । नीतिगत व्यवस्था नै गरिदिएपछि सम्भव भएसम्म नेपाली बीमा तथा ढुवानीका लागि ट्रान्सफर्मर कम्पनीबाट सेवा लिन्छन् भन्ने उद्देश्यले हामीले जोड दिएका हौं,’ उनले भने ।

व्यवसायीहरूले विदेशबाट बीमा गराउनुपर्ने भएमा ढुवानी तथा बीमाको लागत प्रष्ट हुने कागजातरबिल संलग्न गर्नुपर्नेछ । केन्द्रीय बैंकका अनुसार व्यवसायीले ढुवानी तथा बीमाको लागत प्रष्ट रूपमा छुट्टै देखिनेगरी खुलाउनु पर्नेछ ।

विदेशस्थित कम्पनीबाट ढुवानी तथा बीमाको व्यवस्था गराई भारतबाहेक अन्य मुलुकमा भुक्तानी गर्नुपर्ने भएमा सम्बन्धित कम्पनीले जारी गरेको इन्भ्वाइस तथा बिलको आधारमा प्रतीतपत्र जारी गर्ने बैंकले यसमा उल्लिखित रकमको सटही सुविधा सम्बन्धित एजेन्सीको नाममा उपलबध गराउनुपर्ने व्यवस्था छ । आर्थिक अभियान दैनिकबाट

Related Post