News Desk
काठमाडौं - माघ ७
काठमाडौं, चिनियाँ नाकाबाट हुने व्यापार विस्तारै पूर्वावस्थामा फर्किन थालेको छ । कोभिड महामारीका कारण गतवर्ष माघदेखि चिनियाँ नाका बन्द भएका थिए ।
बन्द नाका वैशाखदेखि नै खुलाउने पहल गरिए पनि पहिरोका कारण उत्तरी बाटाहरू अवरुद्ध भएकाले खुल्न सकेको थिएन । पहिरोले समस्याग्रस्त बाटाहरू निर्माण गरेपछि पनि असारपछि दैनिक पाँच कन्टेनरसम्म सामान नेपाल भित्रनेगरी गरी नाका खुलेका थिए । असोजमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा चीनसँग भएको वार्तामा आयात निर्यात बनाउने सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन ।
माघको पहिलो सातापछि भने उत्तरी नाकाबाट हुने व्यापार बढ्दै गएको हिमालयन सीमापार व्यापार संघका सदस्य लोप्साङ शेर्पाले बताए । ‘तातोपानी नाकाबाट हाल दैनिक १६ कन्टेनरसम्म सामान आइरहेको छ,’ उनले भने, ‘रसुुवागढीबाट मुश्किलले दैनिक दुई कन्टेनर सामान आउने गरेकोमा केही दिनदेखि उक्त नाकाबाट पनि सामान आयात बढ्दै गएको छ ।’
हाल नेपाली कन्टेनर सीमा पारी जान पाएका छैनन् । चिनियाँ कन्टेनरले नै सीमावारिसम्म सामान ल्याइदिने गरेका छन् । चिनियाँ नाकाबाट कोरोना अघिको तुलनामा हाल ५० प्रतिशत सामान आयात भइरहेको व्यवसायीहरू बताउँछन् । यद्यपि, निर्यात भने अझैसम्म सुचारु हुन सकेको छैन ।
कोरोना अघिसम्म नेपाली कन्टेनर नै सीमापारि गएर सामान ल्याउने गर्थे । नेपाली कन्टेनर चीनपारि गएर सामान ल्याउँदा ७० हजारदेखि ८० हजारसम्म भाडा पर्ने गरेकोमा चिनियाँ कन्टेनरबाट सामान ल्याउन थालेपछि ढुवानी खर्च भने ह्वात्तै बढेको व्यवसायीको गुनासो रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।