भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह
News Desk
Jan-27 , 2021 तारिख 03:53 बेलुका

काठमाडौं - माघ १४

काठमाडौं, नेपाल उद्योग परिसंघले भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन आग्रह गरेको छ । ६९औं भन्सार दिवसको अवसरमा सोमवार आयोजित विभागसँगको छलफल कार्यक्रममा परिसंघले हालको भन्सार सम्बन्धी जाँचपास तथा आयात निर्यातको प्रक्रियागत प्रणालीलाई थप सहज र व्यवस्थित बनाउन सरकारलाई आग्रह गरेको हो ।

उक्त अवसरमा परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले हालैमात्र सरकारले शुरू गरेको एकीकृत भन्सार जाँच चौकी तथा भन्सार एकद्वार प्रणालीको विकासले थप सहजीकरण गर्ने विश्वास व्यक्त गर्दै भन्सार प्रणाली अब पूर्णरूपमा डिजिटलाइज हुनुपर्नेमा जोड दिए । भन्सारमा मूल्यांकन गर्दा अझै पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा कृत्रिम सन्दर्भ मूल्यलाई आधार मानेर गर्ने गरिएकोमा मूल्यांकनको यथार्थपरक डेटाबेस निर्माण गरी पारदर्शी र अनुमान योग्य मूल्यांकन प्रणालीको स्थापना गर्न सके भन्सारको छवि सुधार हुने धारणा उनले राखे ।

भन्सार पूर्वाधारहरू नयाँ बने पनि नयाँ पूर्वाधारमा कार्गो पार्किङ यार्ड तथा डर्टी कार्गो व्यवस्थापन गर्ने स्थान पनि उपलब्ध नभएको भन्दै उनले भैरहवा, नेपालगञ्ज, उत्तरी सीमा तथा काठमाडौं चोभारमा बन्ने सुक्खा बन्दरगाहमा व्यापार सहजीकरण अनुकूल सुविधा सम्पन्न पूर्वाधार शीघ्र निर्माणका लागि विभागलाई आग्रह गरे ।

परिसंघले तत्काल भन्सार एजेन्ट थप गर्नेगरी इजाजतपत्र खोल्न समेत सरकारसँग माग गरेको छ । २५ वर्षदेखि भन्सार एजेन्ट खुल्न नसकेको भन्दै परिसंघले यस्तो माग राखेको हो । आर्थिक अभियान दैनिकबाट

Related Post