म्यानमार भएको सैनिक ‘कू’ को सर्वत्र विरोध
News Desk
Feb-02 , 2021 तारिख 03:06 बेलुका

काठमाडौं - माघ २०

न्यापिटअ,  म्यानमारको सैनिक टेलिभिजनले म्यानमारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरूले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकीसहित देशका सबैजसो वरिष्ठ राजनीतिज्ञलाई सेनाले नियन्त्रणमा लिएको पनि जनाएको छ ।

म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधानबमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने बताए । ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्ने सेनाको दाबीलाई अस्वीकार गरिएको तथा कोरोना भाइरसका कारण देशभित्र संकटपूर्ण अवस्था रहेकाले आम निर्वाचन स्थगित गर्न सरकार अक्षम भएपछि सैनिक नियन्त्रण आवश्यक रहेको बताए ।

‘कू’को सर्वत्र विरोध

अमेरिका, अस्ट्रेलिया र अन्य मुलुकले विज्ञप्ति प्रकाशन गरी म्यानमारको पछिल्लो अवस्थाप्रति चिन्ता प्रकट गर्दै म्यानमारको सेनालाई कानुनी शासनको सम्मान गर्न आग्रह गरेका छन् । वासिङ्टनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एक वक्तव्य प्रकाशन गरी म्यानमारको लोकतान्त्रिक संक्रमणकालीन स्थितिलाई नजरअन्दाज गरी बर्मेली सेनाले गरेका कुनै पनि कार्यप्रति अमेरिकाको समर्थन नरहने बताएकी छन् । उनले स्टेट काउन्सिलर आङ सान सुकी र अन्य नागरिक पदाधिकारीको गिरफ्तारी आपत्तिजनक रहेको बताएकी छन् ।

अस्ट्रेलियाकी विदेश मन्त्री म्यारिस पेनले सुकी र गिरफ्तार गरिएका सबैलाई हिरासतमुक्त गर्न आग्रह गरेका छिन् । उनले गत नोभेम्बरमा सम्पन्न चुनावको नतिजा अस्ट्रेलियाका लागि स्वीकार्य रहेको जनाउँदै त्यस निर्वाचनबाट प्राप्त नतिजाबमोजिम शान्तिपूर्ण रूपमा राष्ट्रिय सभाको बैठक बस्नुपर्ने अस्ट्रेलियाको धारणा रहेको बताएका छिन् । राजधानी दैनिकबाट

Related Post