एनआईसी एसिया र गेटवे पेमेन्टबीच सहकार्य
News Desk
Feb-21 , 2021 तारिख 06:29 बेलुका

काठमाडौं, ९ फागुन-एनआईसी एसिया बैंकले पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई फिनटेक कम्पनी गेटवे पेमेन्ट सर्भिस प्रा.लिले व्यवसायीमाझ पुर्‍याउने जिम्मा लिएको छ।उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालक (पीएसओ) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपछि बैंकसँग सहकार्य थालेको बैंकले जनाएको छ।

बैंकका अनुसार अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्सको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने जिम्मा गेटवे पेमेन्ट सर्भिसलाई दिइएको हो।यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन् ।

अमेरिका, चीन र भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि प्रतिष्ठित छ ।यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यावसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआईसी एसिया बैंकको खातामा भुक्तानी प्राप्त गर्न सक्ने बताइएको छ ।

बैंकका अनुसार यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिसा, मास्टरकार्ड र युनियन पेलगायतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्नेछ।यस्तै नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित वस्तु तथा सेवाहरूको सर्वसुलभ रूपमा अन्तर्राट्रिय बजारमा बिक्री वितरणमा सहयोग पुगी व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने पनि बैंकले जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले विभिन्न वालेट तथा एक्इ जस्ता फिनटेक कम्पनीहरूलाई कारोबार फर्छ्यौट सुविधा (सेटलमेन्ट सर्भिस) दिइरहेको अवस्थामा बैंकको डिजिटल बैंकिङ प्रणालीको विकास गर्नका लागि विभिन्न फिनटेक कम्पनीहरूलाई सशक्तिकरणको अभियान चलाइरहेको पनि बैंकले जनाएको छ ।

बैंकका अनुसार कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकै बेला भीडभाडमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्युनीकरण गर्नका लागि पछिल्लो समयमा फिनटेक कम्पनीमार्फत सहकार्य गर्दै बैंकिङ सेवा तथा सुविधालाई प्राथमिकताका साथ डिजिटलाइज गरिरहेको हो।

Related Post