News Desk
काठमाडौं - फागुन २३
काठमाडौं, ६५ वर्ष नाघेका वृद्ध आमाबुवाले खोप लगाउने पालो आएको छ। तपाईं द्विविधामा हुनुहुन्छ भने ढुक्क भएर खोप लगाउन जानुहोस्। यसले कोरोना भाइरस संक्रमण हुनबाट जोगाउँछ। दीर्घ रोगहरू (मुटु, फोक्सो, मिर्गौलाका र क्यान्सर) भएका व्यक्तिले पनि खोप लगाए हुने विज्ञ बताउँछन्। यस्तै, रोग प्रतिरक्षा कमी वा एचआईभीरएड्स भएका व्यक्तिले पनि खोप लगाउन मिल्छ।
संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले कोभिसिल्ड खोप लगाएपछि संक्रमण भइहाले गम्भीर बिरामी हुनबाट जोगिने बताए। आफूबाट अरूलाई कोरोना संक्रमण हुने सम्भावना कम हुने पनि डा। सुवेदीको भनाइ छ।
सरकारद्वारा गठित कोभिड –१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीका अनुसार यो खोप सुरक्षित र प्रभावकारी छ। ‘मांशपेशीभित्र दिइने यो खोप ७१ प्रतिशत प्रभावकारी छ’, डा। उप्रेतीले भने। खोपको दोस्रो डोज लगाएपछि प्रभावकारिता झन् वृद्धि हुने विज्ञ बताउँछन्। डा। उप्रेतीका अनुसार पहिलो डोज जुन लगाइएको छ, दोस्रो डोज पनि त्यही लगाउनुपर्छ। ‘यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई डोज लगाउनुपर्छ’, उनले भने।
पहिला कोभिड १९ संक्रमण भएका व्यक्तिले खोप लगाउन मिल्ने उनको भनाइ छ। ‘रोग प्रतिरोधात्मक औषधि सेवन गरिरहेका बिरामीमा तुलनात्मक रूपमा कम प्रतिरक्षा शक्ति प्रदान गर्न सक्छ’, उनले भने, ‘गर्भवती महिलालाई यो खोप दिनुहुँदैन। तर, स्तनपान गराइरहेका आमालाई खोप दिन सकिन्छ।’ ‘कुनै कारण’ले गम्भीर बिरामी भएका व्यक्तिले पनि खोप लगाउन नहुने चिकित्सकको सुझाव छ।
६९ वर्र्षीय प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० बजे खोप लगाएर दोस्रो चरणको अभियान शुभारम्भ गर्दै छन्। यो चरणमा ६५ वर्ष नाघेका १७ लाख ९१ हजार नागरिक खोपबाट लाभान्वित हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘यो चरण अत्यन्तै महत्वपूर्ण छ। खोप अभियान साह्रै जोखिममा रहेको जनसंख्याका लागि सञ्चालन गर्दै छौं’, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शनिबार प्रेस ब्रिफिङका क्रममा भने।
६५ वर्षमाथिको उमेर समूहलाई १० दिनसम्म खोप प्रदान गरिनेछ। त्यसलगत्तै ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने तयारी छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट