स्वदेशमै परीक्षण र उपचार सम्भव
News Desk
Mar-11 , 2021 तारिख 07:23 बिहान

काठमाडौं - फागुन २७

काठमाडौं, नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको हो । नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताए । डा श्रेष्ठले आफ्नो स्वास्थ्यमा खराबी आउनुभन्दा पहिले अस्पताल गई परीक्षण गरेमा मिर्गौला रोगबाट बच्न सकिने जानकारी दिए। तर मानिसहरू आफ्नो स्वास्थ्यको हेरचाह नगरी स्वास्थ्य अवस्था बिग्रिसकेपछि मात्र मृर्गौला रोगको उपचारमा आउने गरेको उनको भनाइ छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा श्रेष्ठ बालबालिकाहरूले पनि वर्षको एक पटक मिर्गौला परीक्षण गर्दा रोग लागे नलागेको थाहा हुने बताउन्छन् ।
सिन्धुपाल्चोककी सुनिता केसी (नाम परिवर्तन) भक्तपुरको क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्थे । बुबा एक विद्यालयमा सुरक्षा गार्डको जागिर गर्ने भएकोले आर्थिक अवस्था त्यति राम्रो थिएन । त्यसैले उनले साना कक्षाका विद्यार्थीहरुलाई ट्युसन पढाएर आफ्नो कलेज खर्च धान्ने गर्थे ।

२२ वर्षीया सुनितालाई केही महिना अघि मात्र अत्याधिक टाउको दुख्ने, आँखा दुख्ने समस्या देखाप¥यो । खप्न नसकेपछि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य परीक्षण गराउँदा मिर्गौला खराब भएको पाइयो । केही दिन त उनले आँखा पनि देखिनन्। अहिले उनी नियमित डाइलासिसमै छिन् । आर्थिक अवस्था कमजोर भएका कारण ट्युसन पढाएर पढाइखर्च धान्नुभएकी सुनितालाई डायलासिस धान्न पनि कठिन छ ।

सुनिता जस्ता सानै उमेरमा धेरै मानिसको यसरी नै मिर्गौला खराब भइरहेको छ । रक्तचाप मात्र नियमित परीक्षण गरिदिएको भए पनि मिर्गौला बचाउन सकिने चिकित्सकहरुको भनाइ छ । नियमित मिर्गौलाको परीक्षण गर्न पिसाबमा क्रिटिनाईनको मात्रा हेरे पुग्छ । त्यसको लागि सरकारी अस्पतालमा एकसयदेखि १५० सम्म रुपियाँ खर्च हुन्छ । पछिल्लो केही वर्षमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ ।

उक्त बीमा कार्यक्रम अहिले देशभर ५० जिल्लाभन्दा बढी जिल्लामा कार्यान्वयनमा आइसकेको हुनाले मानिसलाई उपचार गर्न र नियमित स्वास्थ्य परीक्षण गर्न सम्भव छ । गोरखापत्र दैनिकबाट