News Desk
म्याग्दी - फागुन २८
म्याग्दी, बेनी अस्पतालमा बिरामीको बेडमा अक्सिजन गरी पोर्ट जडान गरिएको छ । अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट पाइपलाइनको सहायतामा बेडनजिकै जडान गरिएको हो । बिरामीलाई आवश्यकता परेको बेलामा बेड नजिकै रहेको पोर्टबाट सजिलै अक्सिजनको प्रयोग गर्न सकिन्छ । बिरामीले पोर्टमा जडान गर्दाबित्तिकै अक्सिजन आउँछ ।
गण्डकी प्रदेश सरकार, सांसद विकास कोष र बेनी अस्पतालबाट कुल १ करोड २० लाखको लागतमा जडान गरिएको उक्त प्लान्टबाट अक्सिजन उत्पादन सुरू गरिएको छ ।अस्पताल भित्रका ३० बेडमा पाइपलाइनबाटै अक्सिजन आपूर्ती गर्ने गरिएको अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘जटिल अवस्थाका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा सिलिन्डर बोकेर बेडमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ,‘केही संरचना र उपकरण अझै थप्ने तयारीमा छौ’अध्यक्ष कटुवालले भने ।
उनका अनुसार विगतमा अक्सिजन भर्नकै लागि सिलिण्डर लिएर पोखरा लैजानुपर्ने बाध्यता थियो । प्लान्टका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट कुल ८५ लाख, सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख रुपैयाँ, बेनी अस्पतालले उपकरण तथा भवनमा १० लाख रुपैयाँ खर्च गरिएको छ । नागरिक दैनिकबाट