नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोरोना सङ्क्रमितलाई पाँच हजार दिने
News Desk
Mar-18 , 2021 तारिख 11:56 बिहान

नुवाकोट - चैत ५

नुवाकोट, नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउने भएको  छ । 

गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रु पाँच हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । उनले कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले उपलब्ध गराएको बताए। 

नगरपालिकाले कोरोना विरुद्धको अभियानमा सहयोग पु¥याउने उद्देश्यले कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिलाई होम आइसोलेशनमा बस्न र सङ्क्रमणविरुद्ध पौष्टिकयुक्त अहारा खान आग्रह गर्दै त्यसबापत रु पाँच हजार एकमुष्ट सहयोग दिने निर्णयानुसार सङ्क्रमति सबैलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले कोरोना सङ्क्रमितको सङ्ख्या करीब एक हजार हुने अनुमानसहित नगरपालिकाले उनीहरुका लागि पोषणभत्तास्वरुप रु ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए । अहिलेसम्म नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या एकसयको हाराहारीमा रहेको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिए ।