News Desk
काठमाडौं - चैत ६
काठमाडौं, एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीका सबै कमिटी र संगठन ब्युँताउने भएको छ। उक्त पक्षको बिहीबार सकिएको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाले माओवादी केन्द्रसँगको एकतापूर्वको पार्टी कमिटी ब्युँताएर अघि बढ्ने निर्णय गरेको हो।
भेलाले १७ बुँदे घोषणापत्र जारी गर्दै फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफू पक्षधर केन्द्रीय कमिटीका सबै निर्णय रद्द गर्न माग गरेको छ। वरिष्ठ नेता नेपालले भेलालाई सम्बोधन गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका थिए। ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने पनि अन्तिम दमसम्म लड्छौं’, नेता नेपालले भने। स्थानीय जनप्रतिनिधिलाई पनि कारबाहीको धम्की दिइएको नेपालले बताए। उनले भने, ‘हटाउने हो भने हामीलाई हटाएर देखाऊन्। हामी तयार छौं।’
उपमहासचिव घनश्याम भुसालले जनसंगठन र पार्टी कमिटी जेठ २ पूर्वकै अवस्थामा फर्काइने घोषणा गरे। ‘पार्टीका धेरै कमिटीमा हाम्रै साथीहरू हुनुहुन्छ। हामी आधिकारिक हौं, उनीहरू ९ओली पक्ष० समानान्तर हुन, गुटबन्दी हुन’, नेता भुसालले भने।
एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। अदालतको आदेशपछि पार्टीका सबै कमिटी, सम्बद्ध जनसंगठन र पेसागत संगठनलगायत सबै संरचना माओवादी केन्द्रसँगको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानुनसम्मत र पद्धतिसम्मत हुने भेलाको निष्कर्ष छ।
‘पार्टीलाई विधान, विधि र पद्धतिअनुरूप सञ्चालन गरेर मात्र नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिन्छ’, घोषणापत्रमा लेखिएको छ, ‘यसलाई क्षतविक्षत तुल्याउँदै राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाउने सबै प्रकारका षडयन्त्रलाई विफल गर्दै नेकपा ९एमाले०लाई एकताबद्ध र सुदृढ बनाउन सकिन्छ।’ सचिव योगेश भट्टराईले जेठ २ पूर्वका कमिटीमाथि प्रधानमन्त्री ओलीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसलाई मान्यता नदिने बताए।
भेलाले एमालेको एकता जोगाउन अध्यक्ष ओलीले फागुन २८ गते एकपक्षीय रूपमा गरेका केन्द्रीय कमिटीका निर्णय रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ। नेपाल–खनाल पक्षलाई जानकारी नदिई महासचिवबाहेक पार्टीका अरू पदाधिकारी हटाउने, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र माओवादी केन्द्रमा नफर्केका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको थियो। अन्नपूर्ण पोस्ट् दैनिकबाट