पेट्रोलियम अन्वेषणको तयारी
News Desk
Mar-25 , 2021 तारिख 01:21 बेलुका

काठमाडौं - चैत १२

काठमाडौं, खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख डा सुधीर रजौरेले दैलेख क्षेत्रबाहेक मुलुकको विभिन्न ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिलो चरणमा लुम्बिनी र चितवन क्षेत्रमा पेट्रोलियम अन्वेषणका लागि आवश्यक तयारी गरी अन्तिम स्वीकृतिका लागि फाइल मन्त्रालयमा पेस गरिएको छ, मन्त्रालयको स्वीकृति आएसँगै अन्वेषणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ ।’’ वैशाखभित्र बोलपत्र आह्वान गर्ने आयोजनाको तयारी रहेको उहाँले बताउनुभयो ।

खानी तथा भूगर्भ विभागले मेचीदेखि महाकालीसम्म पेट्रोलियम पदार्थको सम्भावना रहेका ठाउँलाई १० ब्लकमा विभाजन गरेको परियोजना प्रमुख डा। रजौरेले बताउनुभयो । यी ब्लक पश्चिममा धनगढीबाट सुरु भई पूर्वमा विराटनगरसम्म रहेका छन् ।

उहाँका अनुसार ब्लक १ अन्तर्गत धनगढीको चार हजार ९४१ वर्ग किलोमिटर क्षेत्रफल, ब्लक २ अन्तर्गत कर्णालीको चार हजार ८३८ वर्ग किलोमिटर, ब्लक ३ अन्तर्गत नेपालगञ्जको चार हजार ९०९ वर्ग किलोमिटर, ब्लक ४ अन्तर्गत लुम्बिनीको चार हजार ९६५ वर्ग किलोमिटर र ब्लक ५ अन्तर्गत चितवनको चार हजार ९४५ वर्ग किलोमिटर क्षेत्रमा अन्वेषण कार्य अगाडि बढाइएको छ । गोरखापत्र दैनिकबाट

Related Post