News Desk
काठमाडौं - चैत १५
काठमाडौं, नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न नौ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीबाट २ अर्ब ७३ करोड ४४ लाख ५९ हजारको राजस्व छली भएको ठहर गर्दै सोही रकम बराबरको विगो असुल गरी सञ्चालकलाई कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।
राजस्व अनुसन्धान विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रुपम ट्रेड कन्सर्न, आरजु इन्टरनेसनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमार, एभरेस्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चालन दुर्गेश कुमार झा, गेरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्टका सञ्चालक सुरेश सहनी मलाह र एनआईसी ट्रेडर्सका प्रोपाइटर भूपेन्द्र कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूमध्ये किशोरी यादवले विभिन्न नक्कली फर्म तथा कम्पनी खडा गरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी राजस्व छली गरेको भन्दै विभागले दुई अर्ब १७ करोड ३५ लाख १८ हजार १ सय ७ रुपैयाँको बिगो दाबीसहति मुद्दा दायर गरिएको राजधानी दैनिकमा खवर छ ।