डोल्पामा नगरप्रमुखका दुई डोजरमा आगजनी
News Desk
Mar-29 , 2021 तारिख 02:16 बेलुका

डोल्पा - चैत १६

डोल्पा, जिल्लाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म सकुसल भएको र बिहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ ।

घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उहाँले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान शुरु गरिएको बताए। आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको बताइएको छ । दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । आफू काठमाडौँ भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ । रासस

Related Post