राष्ट्रिय सुरक्षा तालीम शुरु
News Desk
Mar-29 , 2021 तारिख 04:13 बेलुका

काठमाडौं - चैत १६

काठमाडौं, नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु भएको छ । छैटौँ संस्करणको सो तालीमको उद्घाटन गर्दै बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारी जस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयतात्मक प्रयत्न चाहिने बताए। उनले कुनै पनि मुलुकको भविष्य त्यसको राष्ट्रिय सुरक्षा र विकासमा निर्भर रहने जनाउँदै राष्ट्रिय सुरक्षाविना समृद्धि हासिल गर्न नसकिने स्पष्ट गरे ।

राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने उद्देश्यले शिवपुरीस्थित कलेजमा आयोजित तालीममा सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहलगायतबाट २७ जना शिक्षार्थीको सहभागिता छ ।

आफूले पनि सन् २०१६ मा शुरु भएको तालीममा सहभागी भई राष्ट्रिय सुरक्षाका विभिन्न आयामबारे बुझ्ने मौका पाएको जनाउँदै उहाँले निकट भविष्यमा स्थापना हुने प्रतिरक्षा विश्वविद्यालयले राष्ट्रिय शक्ति अझ अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले खुला छलफल र अन्तर्क्रियाले राष्ट्रिय सुरक्षालाई अझ अभिवृद्धि गर्ने बताए । तालीममा विदेशमामिला विज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाशप्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिने भएका छन्। रासस

Related Post