केराउको भाउ छ महिनामै दोब्बर
News Desk
Apr-02 , 2021 तारिख 10:20 बिहान

काठमाडौं - चैत २०

काठमाडौं, विगत छ महिनाको अवधिमा सेतो केराउको मूल्य दोब्बरभन्दा बढी महँगो भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुुसार गत कात्तिकमा सेतो केराउ प्रतिकेजी ७० रुपियाँमा खुद्रा बिक्री भएकामा अहिले बढेर १५० रुपियाँ पुगेको छ । यस्तै सो अवधिमा हरियो केराउको मूल्य प्रतिकेजी ११० रुपियाँबाट बढेर १५५ रुपियाँ पुगेको छ ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो पटक केराउको भाउ अस्वाभाविक रूपमा महँगो भएको बताए। महँगोमा तिर्नुपर्ने केराउ गुणस्तरीय पनि नभएको उनले बताए। केराउ आयातमा सरकारले खुकुलो गरिदिए पनि यसको भाउ घट्ने अपेक्षा रहेको पनि उनले बताए।

आयात गर्न अनुमति
वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसअघि बन्देज लगाएको केराउ, छोकडा, मरिच, सुपारीको पैठारीमा फुकुवा गरेको छ । विभागका निर्देशक शिवराज सेढाईंले केराउ आयातको प्रतिबन्ध खुला गरिसकेकाले अब बिस्तारै केराउको भाउ सस्तो हुने बताए।

उनका अनुसार केराउ आयातका लागि २३३ निवेदनबाट १२ लाख २५ हजार २९० मेट्रिक टन आए पनि हाललाई ८० हजार मेट्रिक टन पठाउने गरी आयातका लागि अनुुमति दिइएको छ । सुपारी आयातका लागि ७५ वटा निवेदनबाट दुुई लाख २७ हजार २७० मेट्रिक टनको माग भएकामा २५ हजार मेट्रिक टन ननाघ्ने गरी आयातमा फुुकुवा गरेको विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट

Related Post