News Desk
काठमाडौं - चैत २४
काठमाडौं, भारतबाट नेपाल प्रवेश गर्नेहरूमा नयाँ भेरियन्ट प्रमाणित भएकाले नेपालका विभिन्न नाकाका साथै काठमाडौं उपत्यकामा प्रवेश गर्ने नाकाहरूमा शंकास्पद व्यक्तिमा एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खुला सिमाना र कोरोना संक्रमणका कारण भारतमा कामका लागि गएका नेपालीहरू नेपाल फर्कने र नेपालमा कार्यरत भारतीय कामदारहरू पनि होली मनाउन भारत गएर अहिले नेपाल फर्कने क्रम बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढेको छ ।
यिनै अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमानाकालगायत काठमाडौं उपत्यकामा प्रवेश गर्नुअघि शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षणका लागि हेल्थ डेस्कको व्यवस्था गर्ने भएको छ ।सोमबार बसेको जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति काठमाडौंको बैठकले नाकाहरूमा सम्बन्धित नगरपालिकाहरूले स्वास्थ्य जाँच र एन्टिजेन टेस्ट गर्न डेक्सको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो ।
एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिई शंकास्पद लागेका उक्त व्यक्तिलाई पीसीआर परीक्षणका लागि पठाइने निर्णय पनि बैठकले गरेको छ ।बैठकले यसअघि सबै महानगरपालिका र नगरपालिका सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन सेन्टरलाई अद्यावधि गर्ने र सबै नगरपालिकामा १–१ वटा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
निर्णयमा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्य मापदण्ड पूर्ण पालना नगर्नेलाई कारबाही गरेर जरिवाना गर्ने, कोभिडसम्बन्धी जनचेतना फैलाउनका लागि नर्स, स्वास्थ्यकर्मी र शिक्षकशिक्षिकालाई परिचालन गर्ने पनि उल्लेख गरिएको छ । यसका साथै चीन सरकारले हालै उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप बुधबारबाट लगाउन शुरु गरिने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।