प्रदेश प्रमुख झाद्वारा ३२ औँ पटक रक्तदान
News Desk
Apr-06 , 2021 तारिख 02:01 बेलुका

काठमाडौं चैत २४

काठमाडौँ,  प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गरेका छन्। सोमबार उनले ३२ औँ पटक रक्तदान गरेका हुन् । “रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । मैले नियमित रक्तदाता गर्न पाएकोमा गर्व गर्दछु”, उनले भने। उनले विशेष गरी प्रदेश २ मा रक्तसञ्चार सेवा वृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुका साथै समुदाय केन्द्रित चेतना कार्यक्रम बढाउन देशभरिका रक्तसञ्चार केन्द्रलाई सुझाव दिएका थिए ।

सो अवसरमा प्रदेश प्रमुख झालाई सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तदातापिन लगाइदिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए । उनले भने, “रगतका अभाव हुन नदिन सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।” केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवाको अवधारणा’ अनुसार रक्तसञ्चार गतिविधि अघि बढाइएको जानकारी दिए ।

उनले रक्तदान गर्नुभएकामा प्रदेश प्रमुख झालाई धन्यवाद पत्रसमेत प्रदान गरे । हालैमात्र उनले निर्देशक पदको जिम्मेवारी सम्हालेका थिए। सुलभ, गुणस्तरीय र मर्यादित रक्तसञ्चार सेवाका लागि प्रदेश नं २ र कर्णाली प्रदेशमा पनि प्रदेशस्तरीय रक्तसञ्चार केन्द्र बनाउने जानकारी उनले दिए। उनका अनुसार विगत चार महिनाका अबधिमा मात्र केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र कालीमाटीले दशहजार भन्दा वढी युनिट रगत सङ्कलन गर्न सफल भएको छ । सङ्कलित रगत विरामीको आवश्यकता अनुसार वितरण समेत गरेको छ । रासस

Related Post