गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा नयाँ मूल्यदर कायम
News Desk
Apr-07 , 2021 तारिख 11:13 बिहान

रसुवा - चैत २५

रसुवा, धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक ५५० एवं सुतेको प्रतिबेड एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको छ । 

गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट व्यापक गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको हो ।

यसैगरी लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको पाँच सय र सुतेको नौ सय एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको चार सय ५० एवं सुतेको आठ सय रुपैयाँ दर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए।

उचाइ क्षेत्रमा सुरक्षाचौकी नभएको र होटल तथा लज सञ्चालकहरूले यात्रुबाट अप्रत्यासितरूपमा मनोमानी ढङ्गले शुल्क उठाउन थालेको जनगुनासो बढेपछि व्यवस्थापकीय कार्य गराउन नियमनकारी निकाय लाङटाङ राष्ट्रिय निकुञ्जलाई स्थानीय प्रशासनले आग्रह गरेपछि नयाँ मूल्यदर निर्धारण भएको हो ।

धार्मिक मार्गअन्तर्गत धुञ्चेको घट्टेखोला, खन्ती, देउराली, डिम्सासमेतका स्थानको खाने–बस्ने मूल्यदरसमेत निर्धारण गरिएको छ । निर्धारित दर निकुञ्जले प्रमाणित गरेकालाई मात्र मन्ने हुने भएकाले होटलमा टाँसिएको दरअनुसार मात्र शुल्क तिर्न सम्पूर्ण यात्रुलाई आग्रह गरिएको छ ।

पन्ध्र दिनको समयसीमा तोकी जिल्ला प्रशासन कार्यालय रसुवाले यही १७ गते गरेको आग्रहलाई तदारूकताका साथ लाङटाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गरी १९ गते नै नयाँ दर कायम गराएको थियो । नयाँ दर होटलमा टाँसिने र त्यसका आधारमा मात्र यात्रुले शुल्क तिर्नसमेत निकुञ्जले आग्रह गरेको छ । रासस

Related Post