News Desk
तनहुँ - बैशाख ७
तनहुँ, व्यासनगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरमा आयोजना गरिएको पर्यटन सम्पदा वातावरण मेलामा करीब १० हजार आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । उक्त कार्यक्रममा तनहुँका विभिन्न क्षेत्र, छिमेकी गोरखा, लमजुङ, कास्कीलगायतका स्थानबाट आन्तरिक पर्यटकको आगमन रहेको आयोजक समितिले बताएको छ । बसाइँसराइले उजाड बन्दै गएको तनहुँसुर क्षेत्रलाई पुनः हराभरा बनाउन र यहाँका विविधताको प्रचारप्रसार गर्ने उद्देश्यले यही वैशाख ५ देखि ७ गतेसम्म उक्त मेला महोत्सवको आयोजना गरिएको हो ।
आइतबार र सोमबार गरी दुई दिनको अवधिमा विभिन्न क्षेत्रबाट तनहुँसुरमा रहेको ऐतिहासिक सम्पदाको अवलोकन तथा मेला हेर्नका लागि आन्तरिक पर्यटक गएका हुन् । दोस्रो दिन सोमबारको कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य सरिता गुरुङले तनहुँसुरको पर्यटन विकासका लागि गण्डकी प्रदेश सरकारबाट सक्दो पहल कदमी थालिने बताए । उनले ऐतिहासिक सम्पदा राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण सम्वद्र्धन गर्दै पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिए।
उक्त स्थलमा पुरातात्विक विभागले तनहुँसुरमा पछिल्लो समय भएका गतिविधिको फोटो प्रदर्शनी तथा ऐतिहासिक सम्पदाको फोटो प्रदर्शनी गरेको थियो । उक्त मेलामा स्थानीय समुदायको आयोजनामा प्राङ्गारिक खानाको परिकारले पाहुनालाई स्वागत सत्कार गरिएको थियो । सेलरोटी, तरुल, भ्याकुर, गुन्दु्रक, भट्ट, मकै, सिस्नोको सुप, लोकल कुखुराको मासु, फापर, टर्की, सुँगुरको अधिकतम प्रयोग गरी पकाइएका परिवार कक्षमा समावेश गरिएको थियो ।
वडाध्यक्ष निरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हालै निर्वाचित बन्नुभएका तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नवनिर्वाचित दमौली बजार एकाइका सभापति भुपाल आले, व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठलगायतका वक्ताले तनहुँसुरको मुहार फेरिने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।
स्थानीय तनहुँसुर देवस्थल सामुदायिक होमस्टे र तनहुँसुर सामुदायिक होमस्टेद्वारा आयोजित मेलाको संरक्षकमा व्यास नगरपालिका र भानुनगरपालिका कार्यालय रहेका छन् भने सहआयोजकमा स्थानीय सात वटा सामुदायिक वन उपभोक्ता समिति रहेका छन् । रासस