News Desk
काठमाडौ - बैशाख ९
काठमाडौं, (एमाले)को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बस्नुभएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो ।
यस्तै स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसंँग केही बेर बसेका थिए। तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्ष सहित १२ कोठा छन् । प्रधानमन्त्री ओली गत चैत ११ गते पार्टीको नयाँ मुख्यालयको निरीक्षण गरेका थिए ।
एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो । रासस