छिमेकीले चलाएको गोली लागेर एक जनाको मृत्यु
News Desk
Apr-23 , 2021 तारिख 08:54 बिहान

ताप्लेजुङ - बैशाख १० 

ताप्लेजुङ, जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् भने घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो ।

बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । घटनाको कारण भने खुलेको छैन । रासस

Related Post