News Desk
काठमाडौं - बैशाख १३
काठमाडौं, आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले प्रमुख शहरहरूमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा बन्दाबन्दी लागू गर्नसक्ने निर्णय गर्ने अधिकार दिन मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ । पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २०० पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा बन्दाबन्दी गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ ।
कोरोना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । भौतिक रूपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरू अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगन गरिएको एक मन्त्रीले जानकारी दिए ।
सीसीएमसीले भारतसँगका सीमा नाकाहरूबाट विदेशी नागरिकहरूलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिश गरेको छ । भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरूमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएपछि उक्त सिफारिश गरिएको हो ।
सीमा नाकामा नेपालीहरूको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमा नाकाबाट भारतीयहरू नेपाल पस्न पाउने छैनन् । यो निर्णयले नेपालमा मालवस्तुको आयात निर्यातलाई भने प्रभाव नपार्ने सरकारी अधिकारीहरूको दाबी छ । आर्थिक अभियान दैनिकबाट