News Desk
परिश्रमको फल पक्कै पनि मीठो नै हुन्छ । दु:ख र हण्डरले जीवनमा परिश्रम गर्न सिकाउँछ पनि । एउटा विपन्न परिवारमा जन्मिएका राजन श्रेष्ठको जीवनमा ठयाक्कै यो कुरा लागु हुन्छ । हुन त खोतल्दै जाने हो भने अनगिन्ती संघर्शका गाथाहरु भेटिन्छन् । यद्यपी परिवेश अनुरुप छुट्टाछुट्टै कथा व्यथाहरु भेटिन्छन्, भोगाइहरु देखिन्छन् । बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल टुसालमा जन्मिएका राजन श्रेष्ठले परिवारको विपन्न आर्थिक अवस्थाका कारण आफ्नो बाल्यकाल खेतीपाती , मेलापात र ज्यालापर्म गर्दै बिताए । विद्यालय पढ्दा नै ज्याला मजदुरी गरे । उनले हातका ठेला फुट्दा हातमा रुमाल बाँधेर पनि खेत खने ।यसरी सानै उमेर देखी परिश्रम गर्न अभ्यस्त राजनलाई हरेक कुरामा मेहनत गर्ने आदत नै पर्यो ।फलत: उनी विभिन्न उतारचढावकाबीच जीवनमा सफलता तर्फ अग्रसर हुँदै गए । २८ वर्षीय श्रेष्ठले यस माझमा सेक्युरिटी गार्ड हुँदै विद्यालयको प्रिन्सिपलसम्म बनेका छन् । उनी कपनमा रहेको पायोनीयर पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल हुन । त्यसो त उनी विभिन्न कला,साहित्य, सामाजिक र शैक्षिक संघसंस्थामा पनि आवद्व छन् ।
पढाइमा अब्बल राजनले स्कुल पढ्दादेखि नै घरबाटै होम ट्यूशन पढाउँथे । जसको बदलामा उनलाई कोहि चामल, आलु त कोहि कसैले पैसा पनि दिने गर्दथे । राजनले होम ट्यूशनलाई निरन्तरता दिदै इन्स्टिच्यूटमा पनि पढाउन थाले । एसलसीमा स्कुल टप गरेका राजनले प्राय: कलेजहरुमा छात्रवृत्तीमा नै अध्ययन गर्ने अवसर पाए । स्तुपाको सुरक्षा गार्डबाट जागिरे जीवनको सुरुवात गरेका राजनले कुनै काम सानो ठूलो नभनी काम गरे । यस दौरानमा उनले सुन पसल र रेष्टुरेन्टको अकाउन्टेन्ट भएर पनि काम गरे ।
केभ्स कलेजमा प्लसटु अध्ययन गरेका राजनले बज्र इन्टरनेशनल कलेजबाट स्नातक उत्तीर्ण गरे । स्नातक पहिलो वर्षमा अध्ययन गर्दा उनले केहि समय विभिन्न संघसंस्थामा पत्रकारिता तालिम लिए भने विभिन्न विद्यालयमा पत्रकारिता तालिम पनि दिए । पत्रकारिता र अग्रेजी विषयमा स्नातक गरे पछि राजनले युनिभर्स कलेजबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरे। त्यसपछि आइएसआरबाट एमफिल पनि गरे । विभिन्न क्षेत्रमा काम गरेको अनुभव संगालेका राजनले २०६४–६५ बाट अंग्रेजी शिक्षकको रुपमा काम गर्न थाले । गोकर्णेश्वर स्कुलबाट अध्यापन गराउन थालेका राजनले नेशनल आइडियल स्कुल , कुपण्डोलमा रहेको नाइटिङ्गेल स्कुल, नर्सिङ कलेजमा केहि वर्ष अंग्रेजी पढाए । सो क्रममा उनले विद्यालयमा हुने अतिरिक्त कृयाकलाप प्रमुखको जिम्मेवारी पनि सम्हाले । त्यसपछि जाउलाखेलमा रहेको डिएबि स्कुलमा सिनियर अंग्रेजी शिक्षक बने । त्यसबेला उनले उक्त स्कुलको वेभसाइटमा राख्ने समाचार सामाग्री संकलन र सम्पादन पनि गर्थे ।
कपनमा सञ्चालन भइरहे पनि कमजोर अवस्थामा रहेको पायोनीयर पब्लिक स्कुल २०–२५ जना मिलेर लिने सहमती भयो । उनी भन्छन्, ‘सुरुवातमा ८ जनाले २०७२ मा स्कुल लियौँ । अहिले पाँच जना मात्रै छौँ । त्यतिबेला कतिपय मानिसहरुले गलत निर्णय लिनुभयो भन्ने सुझाव पनि दिनुभयो ।‘ राजन आफू जुन संस्थामा संलग्न हुन्थे त्यहाँ लगनका साथ काम गर्थे । विद्यालयमा कार्यक्रम सञ्चालक साथै व्यवस्थापनको जिम्मेवारीमा पनि खरो उत्रन्थे राजन। जस्तोसुकै अवस्थामा पनि आफुले पाएको जिम्मेवारीलाई पूरा गरेरै छाड्ने बानी उनमा थोयो र अद्यापी छ । उनी भन्छन्, मैले पायोनीयरको मुहार फेर्ने गरि मेहनत गरेको छु । अब यसैको छुट्टै मन्टेश्वरी खोल्ने, प्लसटु चलाउने योजना छ’ । पायोनीयरका विद्यार्थीहरु देशको प्रतिनिधित्व गर्दै खेल प्रदर्शनका लागि विभिन्न राष्ट्रमा जाने तयारी गरिरहेको उनले बताउँछन् ।
उनी भन्छन् , ‘मेरो बुवाले धेरै पढिस भनेर गाली गर्नुहुन्थ्यो भने हजुरबुवाले ८ कक्षामा पढ्दा नेपाल बस्ने भए पढाई पुग्छ भन्नुभयो, विदेश जाने भए मात्रै अझै पढ्नु भन्नुहुन्थ्यो, एसएलसी नै नदिएपनि हुन्छ भन्ने गर्नुहुन्थ्यो। तर आमा उहाँको नाम चन्द्रमाया हो, उहाँले पढ्न निकै हौसला दिनु भयो । अहिले बुवाआमा म देखी निकै सन्तुष्ट हुनुहुन्छ ।
२०७२ माघमा डिम्पलसँगको ९ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका राजन डिम्पल दम्पतीका ५ बर्षकी र २ बर्षका छोरा छन् । राजन हाल नेपालमा नै पिएचडी गर्ने तयारीमा छन् । पुस्तक लेख्ने योजना पनि सुनाए उनले ।
S. OJHA