News Desk
आशिष शर्मा
तनहुँ, जेठ ११ गते
महिला अध्यक्ष भएको तनहुँको म्याग्दे गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा प्रथम भएको छ । तनहुँका १० स्थानिय तहमध्ये सवैभन्दा धेरै अंक प्राप्त गरी म्याग्दे गाउँपालिका प्रथम भएको हो । म्याग्दे गाउँपालिकाले ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । गाउँपालिकाको अध्यक्षमा मायादेवि राना हुनुहुन्छ । तनहुँका स्थानिय तहमा महिला प्रमुख भएको एक मात्र स्थानिय तह म्याग्दे हो । महिलाले अवसरमा पाएको अवस्थामा काममा अब्बल हुन सक्छन् भन्ने गतिलो उदारणका रुपमा यतिवेला म्याग्दे गापा रहेको अध्यक्ष रानाले बताईन् ।
तनहुँमा ४ नगरपालिका र ६ वटा गाउँपालिका गरी १० वटा स्थानीय तह छन् । सो स्थानिय तहमध्ये महिला अध्यक्ष भएको एक मात्रै पालिका माग्दे हो । अन्य नगर पालिका,गाउँ पालिकामा महिला उपाध्यक्ष रहेका छन् । मुल्यांकनमा व्यास नगर पालिकाले ६९.७५ प्रतिशत अङ्क, वन्दिपुर गाउँपालिकाले ६५ प्रतिशत अङ्क,भिमाद नगरपालिकाले ५७.५ प्रतिशत अङ्क, देवघाट गाउँपालिकाले ६०.५ प्रतिशत अङ्क, घिरिग गाउँपालिकाले २७.७५ प्रतिशत अङ्क ल्याएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि १० विषय क्षेत्रमा ३ स्थिति विभाजन गरी उक्त नतिजा सार्वजनिक गरेको हो । म्याग्दे गापाले समग्र स्थितितर्फ ६५.४८, प्रक्रियागत स्थितितर्फ ६४.७१ र परिमाणात्मक स्थितितर्फ ७७.७८ प्रतिशत अङ्क प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । समग्र प्रक्रियागत र परिमाणात्मक स्थिति विभाजन गरी १ सय सूचकमा रही स्थानीय तहले अनलाइनमै सूचक अङ्क,आवश्यक कागजात र प्रमाण पेश गरी दाबी गर्ने व्यवस्था रहेको थियो ।
गत आर्थिक वर्ष २०७६,०७७ को आर्थिक वर्षमा भएका कामहरुको मुल्यांकन तथा कागजातहरुको आधारमा स्थानिय तहले अंक प्राप्त गर्नेछन् । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला प्रशासन क्षेत्रमा कुशल तथा स्थानिय तहको कार्यमा दक्ष भएकाले कार्य सम्पन्नताको आधारमा म्याग्दे गाउँपालिकाले राम्रो अंक प्राप्त गरेको हो । जनप्रतिनिधि र कर्मचारी विचमा सहकार्यका साथ म्याग्देमा काम सम्पन्न भएका थिए ।
गाउँपालिकाले शासकीय प्रबन्धतर्फ ९४.४४,सङ्गठन तथा प्रशासन तर्फ १ सय , वार्षिक बजेट तथा योजना व्यवस्थापन तर्फ ९०.९१, वित्तीय एवं आर्थिक व्यवस्थापन ८६.३६, सेवा प्रवाहतर्फ ७६.५६, न्यायिक कार्य सम्पादनतर्फ ७८.५७, भौतिक पूर्वाधारतर्फ १९.२३, सामाजिक समावेशीकरण तर्फ ७०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ७२.२२ र सहकार्य तथा समन्वयतर्फ १६.६७ प्रतिशत अङ्क प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिए ।
मुल्यांकनका लागि मन्त्रालयले तयार गरेको कार्यविधि अनुसार शासकीय प्रबन्धतर्फ ९, सङ्गठन तथा प्रशासनतर्फ ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फ ११, सेवा प्रवाहतर्फ १६ रहेको छ । त्यस्तै, न्यायिक कार्य सम्पादतर्फ ७, भौतिक पूर्वाधारतर्फ ७, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ९ र सहकार्य तथा समन्वयतर्फ ६ कूल भार निर्धारण गरिएको छ । कार्यालयवाट भएका कमहरुको वारेमा विवरण कम्प्युटरमा समावेश गरेपछि गापाले नम्वर प्राप्त गरेको गापा उपाध्यक्ष बालकृण्ण घिमिरेले बताए ।
स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिबारे लेखाजोखा गरी सबल तथा दुर्वल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिका बीचमा तुलना योग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो । उक्त कार्यविधी अनुसार नम्बर प्रदान गरी नतिजा प्रकाशन गर्ने जिल्ला समन्वय समिति तनहुँका जिल्ला समन्वय अधिकारी प्रेमराज गिरीले बताए ।
स्थानिय तहलाई कार्यविधिको विषयमा जानकारी दिन मन्त्रालयले प्रशिक्षक तोकेको थियो । नेपाल सरकारले तयार गरेको कार्यविधी अनुसार मूल्याङ्कन नम्बर प्राप्त गर्ने तरिकाको बारेमा तालिम पश्चात स्थानिय तहहरुले कामको आधारमा आवश्यक कागजातहरु स्कान गरी राखेका थिए । आवश्यक कागजात र कामको मुल्यांकनको आधारमा हामिले अंक प्राप्त गरेका हौ गापा अध्यक्ष माया रानाले बताईन् ।
कर्मचारीको क्षमता अनुसार कामको जिम्मेवारी दिने र सही समयमा परिणाममूखी काम सम्पन्न गरेकाले हाँमिले ७० दशमलव ७५ अंक ल्याउन सफल भएको बताउँदै अध्यक्ष रानाले भनिन्,‘तनहुँमा मुल्यांकन कार्य सम्पन्न भएका स्थानिय तहहरुमध्ये सर्वेत्कृष्ट अंक ल्याउनुमा जनप्रतिनिधि, कर्मचारी विचमा भएका कार्य सम्पादन नै प्रमुख हो । गापाको कामलाई सहयोग गर्ने उपाध्यक्ष लगायत कार्यपालिका सदस्य, वडा सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी, स्थानिय टोल विकास समिति तथा स्थानिय समुदायलाई अध्यक्ष रानाले धन्यवाद दिदै आगमी दिनमा पनि सहयोग तथा सहकार्यको अपेक्षा गरेको बताईन् ।
संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा जिल्लामा सर्वोत्कृष्ट अंक प्राप्त गर्न सफल भएका छौ । यसले हाम्रो पालिकाको छवी उच्च पार्न सफल भएको कार्यपालिका सदस्य बद्रीका घिमिरेको दावि छ ।