खोप सम्वन्धि भ्रमपुर्ण समाचार निकालेर मेरो चरित्रहत्या गर्न खोजियो : भविश्वर शर्मा, उपाध्यक्ष-ठमेल पर्यटन बिकास परिषद 
News Desk
May-28 , 2021 तारिख 08:22 बिहान

काठमाडौं- ठमेल पर्यटन बिकास परिषदका उपाध्यक्ष भविश्वर शर्माले आफु विरुद्ध पटक पटक धाकधम्की हुँदै आएको र चरित्रहत्या गर्न खोजिएको बताएका छन् । शर्माले प्रेस विज्ञप्ती   जारी गर्दै उक्त दाबी गरेका हुन । शर्माद्वारा जारी प्रेस विज्ञप्तीमा ठमेल पर्यटन बिकास परिषदका सदस्यहरुलाई संबोधन गरिएको छ । विज्ञप्तीमा आफु एउटा सामान्य नागरिक भएको उल्लेख गर्दै आरोप लगाइए जस्तो खोप कार्ड बितरण गर्दा आफुले पहुँचका आधारमा कुनै किसिमको दुरुपयोग नगरेको दाबी गरेका छन ।  साथै उनले आजको दिनसम्म त्यस्तो कार्य नगरेको तथा भविष्यमा समेत त्यस्तो काम बारे आफुले  सोच्न पनि नसक्ने कुरा प्रष्ट पार्न चाहेको उल्लेख गरेका छन् । 

खोप सम्वन्धि भ्रमपुर्ण समाचार निकालेर आफ्नो  चरित्रहत्या गर्न खोजिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै गलत तबरले समाचार सम्प्रेषण भएकोले आफु कानुनी उपचारमा गएको समेत उनले खुलाएका छन् ।                                                                                                            

शर्माद्वारा जारी प्रेस प्रेस विज्ञप्ती   

आदरणीय ठमेल पर्यटन बिकास परिषदका सदस्य ज्युहरु, हार्दिक नमन !

 

ठमेल पर्यटन विकास परिषदको पहलमा आफ्ना सदस्य (घरधनी र व्यवसायी) तथा कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बचाउन स्वास्थ्य सेवा विभाग र स्वास्थ्य कार्यालय काठमाडौको सहयोगमा गत बैशाख ४ गतेबाट शुरु गरेको कोभिड १९ बिरुद्धको खोप आठौं दिनसम्म लगाई बैशाख ११ गते समापन भएको यहाँहरु सबैमा विदितै छ । 

ठमेलका घरधनी र व्यवसायीलाई कोभिड संक्रमणबाट बचाउन खोप अभियानको नेतृत्व म लगायत ठमेल पर्यटन विकास परिषदका साथीहरूले गरेका थियौँ । घोषित रुपमा स्वास्थ्य सेवा विभागको सहयोगमा खोप सञ्चालन पश्चात म द्धारा थप खोप लगाउनेबारे कुनै काम नभएको र नगरिएको कुरा सम्पूर्ण सरोकारवाला पक्षलाई अवगत गराउन चाहन्छु।

गतबर्षबाट कोभिड १९ को महामारी शुरू भए पश्चात ठमेलका घरधनी र व्यबसायीहरुको सुमधुर सम्बन्ध कायम गरि भाडा समायोजन गर्ने, विद्युत डिमाण्ड शुल्क मिनाह गर्ने, बिना धितो ठमेलका ब्यवसायीहरूलाई रू १५००००० सम्म सहुलियतपुर्ण ऋण उपलब्ध गराउन पहल गर्ने तथा कोरोना भाइरस विरुद्धको भेरोसेल नामक चाइनिज खोप ९१०००० डोज० लगाउने जस्ता सामाजिक भावना र उत्तरदायित्वका कामहरु साथीहरु सहित मेरो नेतृत्वमा हुँदै आएको थियो  । 

माथी उल्लेखित सामाजिक सेवाका यस्ता कार्यलाई बिफल पार्न बिगत देखि नै लागिरहेका ठमेलका केही संकृर्ण मानसिकता बोकेका कुतत्वहरुले बदनियतपुर्ण ढंगले पटक पटक मेरो नाम जोडेर केही अनलाइन मिडिया मार्फत खोप सम्वन्धि भ्रमपुर्ण समाचार निकालेर मेरो चरित्रहत्या गर्न खोजिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचार लेख्दा सम्वन्धित पक्षको भनाई अनिवार्य हुनुपर्ने पत्रकारिताको न्यूनतम मूल्य मान्यता समेत विर्सिएर केही मिडियाहरुले यससम्वन्धमा समाचार संप्रेषित गरेकोमा समेत मेरो गम्भिर ध्यानाकर्षण भएको छ । पित पत्रकारिताको रुपमा प्रकाशित उक्त सामाग्रीप्रति कानूनी कारबाहीका लागि मैले सम्वन्धित निकाय प्रेस काउन्सिलमा उजुरी दर्ता गरिसकेको छु । 

म एउटा सामान्य नागरिक आरोप लगाइए जस्तो पहुँचका आधारमा खोप कार्ड बितरण गर्ने पदाधिकारी नभएको, आजको दिनसम्म त्यस्तो कार्य नगरेको तथा भविष्यमा समेत त्यस्तो काम म बाट सोच्न पनि नसक्ने कुरा यहाँहरु सबैमा प्रष्ट पार्न चाहन्छु । मेरो पृष्ठभूमि र मैले गर्दै आएका कार्यहरूबारे ठमेलका घरधनी तथा ब्यबसायीहरुवीच छर्लङ्ग छ। आफुले केहि गर्न नसक्नेहरुले नै मेरो नेतृत्वमा गरिएका कामहरुले ठमेलका घरधनी तथा ब्यबसायीहरुलाई थोरै भएपनी राहत पुगेको कारण असह्य भएर गुण्डागर्दी शैलीमा मलाई पटक पटक धाकधम्की दिएर तर्साउन खोजिरहेका छन् । 

यस्ता धाकधम्की र चरित्रहत्याले म ठमेलप्रतिको सेवाभावबाट कदापि बिचल्लित हुनेछैन । मेरो समाजसेवाको यात्रा निरन्तर चलिरहने र ठमेलका घरधनी र ब्यवसायीहरुको हकहित तथा समग्र ठमेलको बिकास गर्न निरन्तर लागिरहने प्रण गर्दछु । धन्यवाद ! 

 

भबिश्वर शर्मा

उपाध्यक्ष, ठमेल पर्यटन बिकास परिषद संयोजक,

कोभिड - १९ पर्यटन व्यवसाय बिपत समन्वय समिती 

 

Related Post