News Desk
धनगढी-सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले मन्त्रि परिषद बिस्तार गरेका छन् । मुख्यमन्त्री भट्टले यसअघिको सात सदस्यीय मन्त्रिमण्डल बिस्तार गरि ११ सदस्यीय बनाएका हुन । प्रदेशमा एमाले विवाद उत्कर्षमा पुगेका वेला मुख्यमन्त्री भट्टले एउटा पक्षलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । एमालेको खनाल–नेपाल समूहबाट चारजना मन्त्री र तीन राज्यमन्त्री तथा माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । त्यसअघि सरकारमा सहभागी एमालेका तीनजना मन्त्रीले शुक्रबार नै राजीनामा दिएका थिए । मन्त्रिमण्डल विस्तारसँगै भट्ट नेतृत्वको सरकार भने सुरक्षित बनेको छ ।
नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्रीमा प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी, सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशीले शपथ लिएका छन् । धामी माओवादीबाट र अन्य चारजना एमालेबाट मन्त्री बनेका हुन् । प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रबार साँझ शथप गराएका थिए ।
शुक्रबारै नै आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका शाह मन्त्रिमण्डलमा दोहोरिएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका शाहसँगै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएका थिए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा चुनकुमारी चौधरी, सामाजिक विकास मन्त्रालयमा मनाकुमारी साउद, आर्थिक मामिला मन्त्रालयमा अर्चना गहतराज र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन् । सुनार माओवादीबाट र अन्य तीनजना एमालेबाट राज्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री भट्टले चारैजनालाई शपथग्रहण गराए ।