टेलिमेडिसिन सेन्टर स्थापनामा ईश्वरलाल प्रतिष्ठानको सहयोग, (को हुन स्व. इश्वरलाल श्रेष्ठ?)
News Desk
May-31 , 2021 तारिख 12:39 बेलुका

काठमाडौं, जेठ १६ – चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले स्थापना गरेको टेलिमेडिसिन सेण्टरलाई  ईश्वरलाल प्रतिष्ठानले सहयोग गरेको छ । नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय इश्वर लाल श्रेष्ठको स्‍मृतिमा स्थापित सामाजिक संस्था इश्वर लाल प्रतिष्ठानले सेण्टर स्थापनार्थ पुर्वाधार निर्माण तर्फ सहयोग उपलब्ध गराएको हो ।  नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजन रहेका छन् ।

चिकित्सक संघको केन्द्रिय कार्यालय हातामा स्थापना गरिएको उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा गरेका छन् ।                                                                      

 

ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले  नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) र ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको जानकारी दिइन् ।

कार्यरक्रममा इश्वरलाल फाउण्डेसनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, चेम्बर उपाध्यक्ष/ साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत/ फाउण्डेसनकी सदस्य उर्मिला श्रेष्ठ लागयतको उपस्थिती रहेको थियो ।  

ईश्वर लाल श्रेष्ठ

नेपालको उद्योग वाणिज्य क्षेत्रका एक नक्षत्र हुन स्वर्गिय ईश्वर लाल श्रेष्ठ । उनको जन्म वि सं १९८८ साल भदौ २ गते राति काठमाडौंको ठहिंटीमा भएको थियो  बुवा हिरालाल श्रेष्ठ र आमा लक्ष्मी कुमारी श्रेष्ठका पहिलो सन्तानका रुपमा उनले यस धर्तीमा पाईला टेकेका थिए ।  ईश्वर लाल श्रेष्ठ सानैदेखि निकै चलाख र फुर्तिलो स्वभावका थिए । ईश्वर लाल श्रेष्ठको पारिवारिक पृष्‍ठभुमी सामाजिक रुपले सम्मानित र आर्थिक तबरले  मजबुत स्थितिको थियो ।  तसर्थ पनि उनको बाल्यकाल सुखसयल पूर्वक नै बित्यो  । सानै उमेर देखी फुटबल खेल प्रति रुचि  राख्नुहुने ईश्वर लाल साथी भाई भने पछि  हुरुक्कै हुन्थे । तसर्थ  पनि साथी भाईसँग जमघटमा रमाउने उनको स्वभाव थियो । 

उनले किशोरवय अवस्थामा सरकारी जागिर खाएका  थिए ।  जीवनमा केही गर्नुपर्छ भन्ने हुटहुटीले उनी समय क्रमसंगै ब्यापार ब्यवसायमा सकृय हुन थाले । 

 नेपाल उद्योग बाणिज्य संघ हालको महासंघ० स्थापना पश्चात चेम्बर अभियानलाई अगाडि बढाउने कार्यमा उनको उल्लेखनीय योगदान रहेको छ । तत्कालीन श्री ५ को सरकार घरेलु तथा साना उद्योग विकास समितिको सञ्चालक पदमा रहेर समेत काम गरेका श्रेष्ठले  खाद्य उद्योग लिमिटेड, मोरङ सुगर मिल्स लिमिटेड, घरेलु हस्तकला उद्योग प्रा लि , साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा प्रबर्दित  मेट्रो काठमाडौं ग्याँस इण्डष्ट्रिज लि को अध्यक्ष पद सम्हाmेका थिए। साथै, उनी नेपाल बनस्पति घिउ उद्योग संघको अध्यक्ष तथा नेपाल समुद्रपार निकासी पैठारी संघको उपाध्यक्ष पनि भए । उनले नेपालको उद्योग व्यापारको क्षेत्रमा नेपाल निटिङ् इण्डष्ट्रिज प्रा।लि।, सिद्धार्थ खाद्य उद्योग प्रा।लि।, काठमाडौं प्लाष्टिक उद्योग प्रा।लि।, व्यापार कर्पोरेशन, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी तथा नेपाल उद्योग बाणिज्य महासंघ सञ्चालक एवं सदस्य रहि आफ्नो अमूल्य सहयोग तथा सुझाव प्रदान गरेका थिए। 

श्रेष्ठ आफनो जमानामा मुलुकको समग्र चेम्बर आन्दोलनका एक प्रमुख हस्ति थिए । उद्योग तथा व्यापार क्षेत्रमा लामो समयदेखि सक्रिय रहि आएका ईश्वर लाल श्रेष्ठले विक्रम संवत् २०१९ सालदेखि चेम्बरका विभिन्न पदमा रहि कार्य गरेका थिए  । २०१९ मा कार्यसमिति सदस्यमा चुनिएपछि अवैतनिक सचिव, कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्षको नेतृत्वदायी भूमिकालाई उहाँले अविस्मरणीय हुनेगरी त्यो अवधि कोशेढुङ्गा साबित गरेका थिए।  नेपालको आर्थिक क्षेत्रमा क्रियाशील व्यक्ति र व्यवसायीहरुलाई एउटै छानामुनि उभ्याउने काम र देशको औद्योगिक विकासमा टेवा पु¥याउने कार्यमा माध्यम बने ईश्वरलाल श्रेष्ठ । आर्थिक विकासका लागि थालनी भएको चेम्बर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने  एक जल्दा बल्दा अगुवा थिए ईश्वरलाल श्रेष्ठ । उनकै देन र लगावका कारण नेपाल चेम्बर अफ कमर्शको जग दरिएर बस्यो । यस लगत्तै उद्योग बाणिज्य संघ लगायतका संस्थाहरुको स्थापना भयो । देशको राजनीति २००७, २०३७, २०४६, २०६३ र २०६५ हुँदै गणतन्त्रसम्म आइपुग्दासम्म सयौं व्यापारिक संघ संस्थाहरु क्रियाशील छन् । देशमा यी संघ संस्थाहरुको माध्यमले गर्दा व्यवसाय गर्ने व्यवसायीहरुको हक हित र संरक्षण मात्र भएको छैन, यसले देशको आर्थिक विकासका लागि पनि सेतुको काम गरेको छ । यिनै संघ संस्थाहरुको दबाबका कारण राज्यमा विभिन्न ऐन कानुन तर्जुमा तथा निर्माण भएका छन् । हरेक काममा अगाडि बढ्नका लागि गहन अध्ययन र पहिला भएका विकासक्रमका पार्इलाहरुलाई पछ्याउन त्यत्तिकै जरुरी हुन्छ । जस्तैः ईश्वरलाल श्रेष्ठले उठाएका भ्याटसम्बन्धी  विषयहरु अहिलेको अवस्थामा घामजस्तै छर्लङ्ग भएको छ । १० प्रतिशत भ्याट कायम गर्दा शिक्षा तथा अन्य क्षेत्रहरुलाई  व्यवसायको अवस्था हेरि कायम गर्नुपर्ने भनी उहाँले अडान  लिएका विषय थिए । तत्कालीन सरकारले सबैलाई एउटै टोकरीमा राखेर निर्णय ग¥यो । यसैको फलस्वरुप सरकारले सबै व्यवसायीहरुलाई भ्याटको दायरामा ल्याउन सकेन । त्यसैगरि, तीन कार्यकाल निवर्तमान अध्यक्षका हैसियतमा चेम्बरमा उनको भूमिका उल्लेखनीय रह्यो । 
 
ईश्वर लाल श्रेष्ठ सामाजिक चेतका धनी थिए । दिन दुखी र समस्यामा परेकाहरुलाई सहयोग गर्ने उनको बानी थियो ।  ईश्वरलाल सामाजिक सेवामा तल्लिन भएर लागेको पाईन्छ ।  त्यस क्रममा उनले शैक्षिक जागरणका निम्ती निभाएको भूमिका, कुष्ठरोगीको सेवा र  साल्ट ट्रेडिङ मार्फत जनतालाई अत्यावश्यकिय उपभोग्य वस्तु सर्वसुलभताका साथ उपलब्ध गराउने  अभियानमा उनी निरन्तर खटिए । घर व्यवहार सञ्चालनमा असल अभिभावकका रूपमा भूमिका निभाए । 

टिपटप र स्मार्ट देखिन सुटेड बुटेड भएर हिंड्ने ईश्वर लालमा जोस, जाँगर र उत्साह जीवनभरका लागि सदाबहार रह्यो । उनले सानोतिनो बिमारलाई लुकाए, निरन्तर काममा खटेर लगनशील, कर्तव्यनिष्ठ र इमानदार व्यक्तिको पहिचान बनाए । त्यहीँ दौडधुप, खटाइ, मिलनसारिता र व्यावहारिकताका कारण ईश्वरलाल श्रेष्ठ सफल व्यवसायीका अतिरिक्त सफल समाजसेवी, सफल अभिभावक र समग्रमा सफल मानिस बने । र जीवनको अन्तिम घडीसम्म उनी सकृय नै रहे।  उद्योग तथा बाणिज्य क्षेत्रको प्रबद्र्धनको सिलसिलामा उनले अमेरिका, पूर्वी युरोप, दक्षिण पूर्व एशिया, आशियान तथा दक्षिण एशियाको भ्रमण गरेका थिए । 

यसरी नेपालको उद्योग वाणिज्य क्षेत्रमा अनवरत रुपमा खटिदै  नेपालको चेम्बर आन्दोलनमा अग्रणी भूमिका  निर्वाह गर्दै आएका  श्रेष्ठले वि स २०७१ साल कार्तिक १४ गते यस धर्तीबाट  सदाका लागि विदा लिए ।  यद्यपी उनको लगनशील, कर्तव्यनिष्ठ र इमानदार व्यक्तित्वको छवी भने सदाका लागि चिरस्मरणिय रहिरहने नै छ ।

Related Post