News Desk
काठमाडौं- गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरको आयोजनामा समसामयिक विविध संकट बारे छलफल गरिएको छ । सो अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेसनकी केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधान एवम् पररास्ट्र मन्त्री सुजाता कोइरालाले हाल राष्ट्रपति र प्रधानमन्त्रीले यो देश आफुहरु दुई जनाको मात्र भएको व्यवहार देखाएको उल्लेख गर्दै यि दुवैको अकर्मण्यताका कारण देशमा गम्भिर राजनीतिक संकट चुलिएको बताईन । उनले लोकतन्त्र नै संकट परेको दाबी पेश गर्दै जनताहरुमा निराशा थपिएको उल्लेख गरिन भने हाल स्वास्थ्य संकटको बेलामा समेत सरकार कमिशनमा लिप्त रहेको कुरा राखिन । उनले हाल मुलुकले गहिरो संवैधानिक संकट खेपिरहेको बताउदै यसको जिम्मा प्रधानमन्त्री ओली र राष्ट्रपती विद्या देवी भण्डारीले लिनु पर्ने बताईन ।
फाउण्डेसनका कानुनी सल्लाहकार मोहन पोखरेलले गिरिजा प्रसाद कोइरालाको वैचारिक विरासत फाउण्डेसनले थाम्नुपर्ने धारणा राख्दै स्व. कोइरालाबाट प्रस्तुत लोकतन्त्र प्रतिको निष्ठा र सहकार्य, सहमती र एकताको भावनालाई आत्मसात गर्दै अघि बढन फाउण्डेसनका सदस्यलाई आग्रह गरे । साथै उनले हाल देशमा संवैधानिक संकट चुलिएको र सत्ता कब्जाको रणनीतिक योजना बुनेर केपी ओली अघि बढेको बताए । फाउण्डेसनले विचार श्रिँखला संचालन गर्दै गिरिजा प्रसाद कोइरालाको विचारलाई जिवन्त तुल्याई राख्नुपर्ने धारणा उनले व्यक्त गरे ।
जिपी कोइराला फाउण्डेसनका सदस्य समेत रहेका ट्रेड युनियनकर्मी अजय कुमार राईले हाल देश तरल अवस्थामा रहेको उल्लेख गर्दै हाल सरकारले ल्याएको बजेटले उद्योगपतीहरुको पक्षपोषण गरेको तर श्रमिक वर्गलाई पूर्णतया वेवास्ता गरेको बताए ।
कार्यक्रममा फाउण्डेसनका आमन्त्रित केन्द्रिय सदस्य नरेन्द्र भट्टले नेपालमा हाल सबै भन्दा उच्च रुपमा मानविय संकट गहिरिदै गएको उल्लेख गर्दै राज्यको ध्यान महामारीबाट नागरिकलाई जोगाउने तर्फ नरहेको बताए । साथै उनले कांग्रेस नेत्रीत्वबाट पनि जनताहरु त्यती आश्वस्त बन्न नसकिरहेको बताउदै संगठनको सुदृढिकरणमा जोड दिनु पर्ने धारणा राखे ।
फाउण्डेसनकी व्यवसाय समिती निर्देशक शान्ता बाँस्कोटाले हाल राजनीतिक संकटसँगसँगै स्वास्थ्य संकट चुलिएको घडीमा आम नागरिकको जीवन रक्षामा सरकार चुक्दै गएको र राजनीतिक रुपमा पनि जनतालाई सुरक्षाको प्रत्याभुती दिन नसकेको जनाईन ।साथै निर्देशक बाँस्कोटाले हाल चुनावमा जाने कुरा गर्नु हास्यादपद र गैरजिम्मेवारपूर्ण रहेको उल्लेख गर्दै पपुलिस्ट बजेट ल्याएर जनता अलमलाउने खेलमा लागेको धारणा राखिन ।
फाउण्डेसनकी महिला विभाग निर्देशक उमा शिवाकोटीले सरकारको वैधानिक माथि प्रश्न उठेको बताउदै हालको सरकार निरंकुशता तर्फ अघि बढेको आरोप लागाइन ।
फाउण्डेसनका पर्यटन विभाग निर्देशक कुल बहादुर गुरुङले हाल देशमा विविध संकट परेको बेला आफुले गिरिजा प्रसाद कोईरालालाई स्मरण गरेको बताउदै यस्तो महामारी संकटको बेला चुनाव गराउछु भन्दै सरकारले जनता ढाटीरहेको बताए । उनले सरकारसँग सफ्ट लोनको आग्रह गरे पनि सरकारले केही सहयोग नगरेको बताए ।
त्यसैगरि फाउण्डेसनका लुम्बिनी प्रदेश संयोजक अभिशेक पाण्डेले लुम्बिनीमा कोभिड-१९ को दोस्रो लहरले भयावह स्थिती बारे वर्णन गर्दै अक्सिजिनको अभावले धेरैको निधन भएकोले सरकारको उपस्थिती शुन्य रहेको महशुस गरिएको बताए । साथै उनले खोप लगाउने सवालमा समेत सरकारले गलत नियत बोकेर काखा पाखा गरेको उल्लेख गरे ।
गण्डकी प्रदेशकी संयोजक शारदा पौडेलले सत्तामा रहेका पक्ष संविधानको घेरा भित्र बस्न नसक्दा देशका नागरिकले राजनीतिक रुपमा दु:ख पाउदै आएको र कोभिड-१९ को कहरले पिल्सदै गर्दा पनि स्वास्थ्य सुविधा पाउन नसक्नुमा सरकारको नालायकी पन प्रमुख रहेको उल्लेख गरिन । साथै उनले गिरिजा प्रसाद कोइरालाले देखाएको बाटोमा हिंड्न नसक्दा अहिलेको सरकार पूर्ण रुपमा विफल भएको धारणा राखिन ।
बागमती प्रदेशका संयोजक गणेश भट्टराईले हाल कोभिड १९ को दोस्रो लहरबाट आम नागरिकहरु पिल्सिरहेको बताउदै फाउण्डेसनका सदस्यहरुले राहतका लागि कसरी जोडिन सकिन्छ भनेर सोच्नुपर्ने बताए ।
प्रदेश दुईका संयोजक सुवास चन्द्रले देश भयावह अवस्थामा हुँदा पनि गिरिजाप्रसाद कोईरालाले देशलाई निकास दिन सफल भएको र सबैलाई मिलाएर अघि बढन सक्ने क्षमता प्रस्तुत गरेका थिए भन्दै गिरिजाप्रसादको अभाव खडकिएको बताए । साथै उनले प्रधानमन्त्री केपी ओलीले तराई, पहाड र हिमालबासी बीच फाटो ल्याउने काम गरेको आक्षेप लगाए ।
फाउण्डेसनका प्रदेश एक संयोजक शैलेन्द्र शिवाकोटीले केपी ओली देश कब्जा र कांग्रेस सभापति शेर बहादुर देउवा पार्टि कब्जाको योजना लिएर अघि बढेको धारणा राख्दै यि दुवैबाट क्रमश: राष्ट्र र पार्टिलाई जोगाउनु पर्ने दायित्व फाउण्डेसनको अगुवाईमा गरिनु पर्ने धारणा राखे ।
फाउण्डेसनका कंचनपुरकी कोषाध्यक्ष सन्तोषी ऐरीले हाल स्वास्थ्य संकट चुलिएको स्थितीमा सरकार सत्ता टिकाउन मात्रै लागिपरेको र जनताले राजनितिक संकटको सामना गरिरहेको धारणा राखे ।
फाउण्डेसनका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ठहिन्द्र रिजालले गिरिजा प्रसाद कोईराला लोकतन्त्रको जन्मदाता भएको स्मरण गर्दै लोकतन्त्रको संरक्षणका लागि फाउण्डेसनमा जोडिएकाले दिलो ज्यान दिएर अघि बढनुपर्ने अवस्था आएको बताए ।
फाउण्डेसनका पर्सा जिल्ला अध्यक्ष मोहम्मद सहाउद्धिनले सरकारले जनतालाई स्वास्थ्य र खाद्य सुरक्षाको प्रत्याभुती दिन नसकेको विचार व्यक्त गरे ।
अधिवक्ता संझना पोखरेलले केपी ओली नेतृत्वको सरकार गैर संवैधानिक रहेको बताईन ।
सो अवसर माझ विभिन्न देशबाट सामाजिक संजाल मार्फत जोडिदै राखिएका सवाल उपर वक्ताहरुले जवाफ पेश गरेका थिए ।
कार्यक्रम जिपी कोईराला फाउण्डेसन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा भएको थियो ।