News Desk
काठमाडौं-गृहप्रवक्ता जनकराज दाहालले असार देखी लुजडाउन हुने संभावना औंल्याएका छन् ।
सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाएको उनले स्पष्ट पारेका हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले उक्त योजना बनाएको हो । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निशेषाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निचोडमा पुगिने जनाइएको छ ।
गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी समेत दिए । ‘यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ,’ दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ ।’
सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्ने बताईएको छ।