प्रतिनिधिसभा विघटन मुद्दामा संवेधानिक इजलासबाट 'एमीकस क्युरी' झिकाउन आदेश
News Desk
Jun-10 , 2021 तारिख 12:45 बिहान

काठमाडौँ - प्रतिनिधिसभा विघटन मुद्दामा संवेधानिक इजलासले 'एमीकस क्युरी' झिकाउन आदेश दिएको छ । संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई-दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो ।

बुधबारको सुनुवाइपछि जारी आदेशमा अन्तिम सुनुवाइका लागि ४ सदस्यीय एमीकस क्युरीको नाम झिकाउन भनिएको छ ।

आदेशमा लेखिएको छ, 'अदालतको सहयोगी (एमीकस क्युरी)को रूपमा नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई/दुई जना विद्वान् वरिष्ठ अधिवक्ताहरूको सहयोग उपलब्ध गराइदिन तत्काल लेखिपठाउनू ।'

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो ।

पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछिको मुद्दामा ५ सदस्यीय एमीकस क्युरी गठन गरिएको थियो । यसपटक चार जनाको मात्रै एमीकस क्युरी गठन भएको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको अन्तिम सुनुवाइ असार ९ गतेदेखि निरन्तर गर्नेगरी आदेश भएको छ । सुनुवाइका क्रममा रिट निवेदक, विपक्षी र एमीकस क्युरीका लागि समय पनि आदेशसँगै तय गरिएको छ ।

एमीकस क्युरी भनेको के हो ?

एमीकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो । इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमीकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्नेछ ।

 

 

धेरै पढिएको