News Desk
|
बिष्णु गौतम तनहुँ, २७ जेठ-कोभिड १९ महामारी विरुद्ध लड्नका लागि तनहुँको देवघाट गाउँपालिकाले स्थापना गरेको कोभिड कोषमा १५ लाख रूपैयाँ सहयोग प्राप्त भएको छ। गाउँपालिकालाई कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले विहिवार उक्त रकम सहयोग गरेको हो। महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतको तीन वटा संस्थाहरूको सहकार्यमा माहामारीको रूपमा फैलिएको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सहयोग प्राप्त भएको चितवन जिल्ला क्लस्टर प्रवन्धक कृष्णबाबु कट्टेलले जानकारी दिए । सो आर्थिक सहयोग देवघाट गाउँपालिकाको प्रभावित जनताहरूका लागि भएको हुनाले देवघाट गाउँपालिकाको बैंक खातामा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले जम्मा गराएको पनि जानकारी प्राप्त भएको छ । सो रकम मार्फत अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आईसीयु, एक्सरे मेशिन, आइसोलेसन तथा कोभिड अस्पताल निर्माण, इन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिजन, पिपिई किट लगाएतका स्वास्थ्य उपचार र सुरक्षा सामग्रीहरूमा खर्च गर्नुपर्ने कट्टेलले जानकारी दिए । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि थप सहयोग प्रदान होस् भन्ने उद्देश्यले सहयोग रकम हस्तान्तरण गर्ने हेफर इन्टरनेशनल नेपाललाई देवघाट गाउँपालिकाका अध्यक्ष दर्ग वहादुर थापाले खुशी व्यक्त गर्दै धन्यवाद प्रकट गरे । साथै यो सहयोगले आम देवघाटवासिलाई धेरै ठुलो सहयोग पुग्ने बताउदै अध्यक्ष थापाले हेफर इन्टरनेशनल नेपालले अतुलनीय कार्य गरेको र आगामी दिनहरूमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता तथा विश्वास जायर गरेका थिए। त्यसैगरि महिला समन्वय समितिका अध्यक्ष इन्दिरा आचार्यले कोभिडको राहत ‘सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउ सहयोगी हातहरू’ भन्ने नारालाई आत्मसाथ गर्दै कोरोना महामारीको समयमा ग्रामिण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई कठिन भैरहेकोले संस्थाले केही मलमपट्टिसम्म लगाउन सकिन्छ कि भन्ने हेतुले सहयोगको हात अघि बढाएको बताईन् ।
त्यस्तै देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष याल वहादुर गुरूङले हेफर इन्टरनेशनल नेपालको सहयोगप्रति अभार प्रकट गर्दै रकम भन्दा पनि सहयोगको भावना ठूलो कुरा रहेको बताउदैँ सदैब सहकार्यमा अघि बढ्ने बताए।
कार्यक्रम चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष तारादेबी पन्तको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियोे । |