खाल्डोमा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु 
News Desk
Jun-11 , 2021 तारिख 03:56 बेलुका

 जनकपुर-धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ स्थित खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरू १० देखि १३ वर्ष उमेर समूहका बालिका छन् ।

मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन् ।

दुई बालक हराइरहेको पनि सूचना प्राप्त भएको छ । प्रहरी घटनास्थल पुगिसकेका छन् । घटनास्थल पुगेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले नेपाल प्रेससँग भने, ‘अहिले भर्खर घटनास्थल आईपुगेँ । केहीबेरमा मात्र विस्तृत विवरण दिन्छौं ।’

स्थानीय हुलास यादवको खेतमा खनिएको खाल्डोमा उनीहरू डुबेको बुझिएको छ । खाल्डो किन खनिएको थियो भन्ने विषयमा केही खुल्न सकेको छैन ।

एकैपटक ५ बालिकाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

Related Post