News Desk
काठमाडौँ- चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको छ । निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको जानकारी दिए । ‘बीएण्डसीको बारेमा प्रक्रिया पुर्याई सम्बन्धन दिने कुरा भएको छ, सम्बन्धन दिईने भैयो,’ उनले भने, ‘ऐन नियम कानुनले के भन्छ हेरेर आयोगले सिफारिस गर्नुपर्छ ।’ आयोगले सिफारिस गरेपछि काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने निर्णय लिने उनले बताए । ‘कागजात कानुनसम्मतः छैन भने बीएण्डसीले पूरा गर्नुपर्छ, बैठकले सम्बन्धन दिने नै निर्णय गरेको हो,’ उनले भने । नपुगेका प्रक्रिया पूर्याउन सबै पक्षले सहयोग गर्नुपर्ने पनि उनले औंल्याए ।
‘सम्बन्धन दिने नै भन्ने निर्णय भएको हो तर केही कुरा पूरा भएको छैन भने पूरा हुनुपर्छ भनेर प्रक्रिया पूरा गरेपछि भन्ने कुरा राखिएको हो,’ उनले दोहोर्याए ।
सम्बन्धन दिन लागिएको भन्दै यसको विरोध बृहद् नागरिक आन्दोलनका अभियन्ताहरुले आजै प्रदर्शन गरेका थिए । स्वास्थ्य सेवा र शिक्षाका अभियन्ता डा. गोविन्द केसीले सम्बन्धन दिइने सत्याग्रह गर्ने घोषणा गरेका छन् ।
बैठकमा आयोगको बार्षिक बजेट तथा कार्यक्रम, मेडिकल कलेजको सिट निर्धारण, आयोगको संगठन संरचनाको विषयमा पनि छलफल र विभिन्न निर्णय भएको छ ।