News Desk
काठमाडौं-बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा प्रधानमन्त्रीलाई लक्षित गर्दै आफु नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका छन् । वैद्यले शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध ‘नाथुराम गोड्से हुन तयार रहेको’ अभिव्यक्ति दिएका छन् । संसदमा बोल्दै उनले भनेका थिए ’ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है,’ प्रदेश सभाको बैठकमा बोल्दै वैद्यले भनेका छन्, ‘त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’
उनको उक्त अभिव्यक्तिको हाल सामाजिक सञ्जालमा आलोचना भएको छ ।
वैद्यले प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाउन देशलाई बर्बाद बनाएको भन्दै नाथुराम गोड्सेको आवश्यक रहेको बताएका थिए । नाथुराम गोड्से महात्मा गान्धीका हत्यारा हुन । वैद्यको उक्त अभिव्यक्तिले ओलीको हत्या गर्नुपर्छ भन्ने जिकिर भएको भन्दै उनलाई कतिपयले आत्मआलोचना गर्न भनेका छन् भने कतिपयले तुरुन्त पक्राउ गरेर कारबाहीको माग गरेका छन् । सत्तारुढ एमालेले यसलाई राजनीतिक मुद्दा बनाउने संकेत देखिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘सडकमा राख्नुपर्ने संयम संसद्मा गुमाउन पाइन्न’ भन्दै आत्मालोचना गर्न भनेका छन् । ‘आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ प्रवक्ता शर्माले सामाजिक सञ्जालमा भनेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएकोसमेत उल्लेख गरेका छन् । वैद्य नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन ।