News Desk
काठमाडौँ — जेष्ठ ३०, २०७८ ।
काठमाडौं उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो ।
सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनले भने “असार १ गतेदेखि सुरुङमा पानी सुकाएर सबै निरीक्षण गर्दैछौँ । यो पूर्वकार्यतालिका बमोजिम नै हो।”
उनका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्ने छ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ । सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरूले समस्या देखे भने वा थप सुझाव दिए भने अरू काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ ।
वर्षातमा पानीको अभाव कम हुने भएकाले असार र साउनमा सुरुङ परीक्षणका लागि कार्यतालिका बनाइएको पन्तले जानकारी दिए। मेलम्चीको पानी नआएको यो अवधिमा काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन बागमती नदीको पानी प्रशोधन गरेर दैनिक चार करोड लिटर उत्पादन गर्ने तयारी भइरहेको समितिले जनाएको छ।
दोस्रो आयोजनाअन्तर्गत याङ्री र लार्के खोलाको पानी पनि मेलम्चीकै सुरुङबाट काठमाडौँ उपत्यका भित्रयाउन थप पूर्वाधार निर्माणका काम भइरहेका छन् । हाल मेलम्चीदेखि याङ्री खोलाको हेडवक्र्स निर्माण स्थलसम्मको सडक निर्माण भइरहेको छ । २५ किलोमिटर यो सडकमध्ये १५ किलोमिटर पहिल्यै ट्र्याक खोलिएको थियो भने अन्य काम अहिले भइरहेको पन्तले जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।