News Desk
बिष्णु गौतम दमौली, जेठ ३०-नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा सामाजिक व्यक्तित्व स्वर्गिय हाजी रफिक मियाँको बारेमा पछिल्लो पुस्तालाई चिनाउन सक्नुपर्ने बताएका छन् । पौडेलले हालै मृत्युवरण गरेका नेपाली कांग्रेसका नेता स्व. मियाँको आईतबार मुस्लिम धर्मअनुसार चोख्याउने कर्मको कार्यक्रमलाई सम्बोधन गदै सो कुरा बताएका हुन् । ‘मान्छे आफैमा असल हुनको लागि कस्तो हुनुपर्छ त्यसबारे पछिल्लो पु्स्तालाई चिनाउने काम गर्न रफिक मिया बारे जानकारी दिनु पर्छ’ पौडेले भने । मियाको नाउँमा कुनै न कुनै संस्था स्थापना गर्न आवश्यक रहेको पनि नेता पौडेलले बताए । ‘उहाँको नाउँमा संस्था स्थापाना गर्न परिवारजनबाट कसैले नेतृत्व गर्नुभयो भने पार्टीका तर्फबाट हामी मद्धत गर्छौ’ पौडेले भने । मियासँगै विकास निर्माणको काम जोडिएको स्मरण गर्दै अधुरा कामहरु पुरा गर्नुपर्नेमा उनले जोड समेत दिए । मियाँ तनहुँ काँग्रेसको बारेमा अत्यन्तै चिन्तित हुने गरेको पनि पौडेलले बताए ।
लोकतन्त्रले मात्रै समाजको उत्थान हुन्छ भनेर मिया काँग्रेसमा लागेको उनको भनाई थियो । वाक्य निर्माण मिठास पूर्ण गर्ने, गुट उपगुटको विरोध गर्ने स्वाभाव रहेको पौडेलले बताए । ‘यहाँ खुलेकाका बाटा, खानेपानी, विद्यालय लगायतका विकास पूर्वाधारहरु मियाको अग्रसरमा भएका हुन्’ पौडेलले मियाँको योगदान बारे चर्चा गर्दै भने । मुस्लिम आयोगका पूर्व सदस्य समेत रहेका मियाको हृदयघातको कारण चार दिन अघि आफ्नै निवास भानु नगरपालिका–१३ सम्जुरमा निधन भएको थियो । काँग्रेसले मुस्लिम परम्परा अनुसार चौथो दिन गरिने कर्मको सन्दर्भमा श्रद्धाञ्जली कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने लगायतका नेताहरु उपस्थित भएर स्वर्गिय मियाँलाई श्रद्धाञ्जली दिएका थिए ।