नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट निर्माण हुने
News Desk
Jun-14 , 2021 तारिख 05:43 बिहान

काठमाडौँ — जेष्ठ ३१, २०७८। 

अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै पहिलो लिक्विड (तरल) अक्सिजन ग्यास प्लान्टको भर्चुअल माध्यमबाट आइतबार शिलान्यास गरेका हुन् । सो ग्यास प्लान्ट भने रूपन्देहीको रोहिणी गाउँपालिकास्थित सिमरहवामा स्थापना गरिनेछ ।

अक्सिजन ग्यास प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभावले धेरै समस्या झेल्नुपरेको स्मरण गर्दै अब यो प्लान्टको स्थापनाले अक्सिजनको समस्या बेहोर्नु नपर्ने बताए ।

कोरोनाको दोस्रो लहरका क्रममा एक्कासि अक्सिजन अभाव हुँदा धेरै व्यक्तिले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजनको माग अत्यधिक बढेपछि धेरैले महँगो मूल्य तिरेरै भए पनि अक्सिजन सिलिन्डर किनेका थिए । प्रधानमन्त्री ओलीले भारतबाट अक्सिजनलगायत आवश्यक स्वास्थ्य सामग्री आयात गर्ने क्रममा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राखेको र त्यो अब पूरा हुने स्पष्ट पारे । हरेक सय बेडभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले यस्तो महामारीमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोनाको दोस्रो लहर उचाइमा पुगेको बेला मुलुकमै लिक्विड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास प्रशंसनीय र देशप्रति उत्तरदायीपूर्ण भएको बताए ।

उनले अक्सिजन प्लान्ट स्थापना र सञ्चालन सफल पार्न भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी दिए । आगामी दिनमा कोरोनाको महामारी हटिसकेपछि पनि प्लान्टबाट उत्पादन हुने अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने भन्दै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने बताए । यसैगरी, उनले अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउनसमेत सहज हुने अपेक्षा गरिएको जनाए ।

रूपन्देहीको रोहिणी गाउँपालिकास्थित परासी–भैरहवा सडकखण्डमा शिलान्यास गरिएको लिक्विड अक्सिजन प्लान्ट शंकर ग्रुपअन्तर्गतको शंकर ग्यास उद्योगले १ अर्ब रुपैयाँ लगानीमा स्थापना गरेको हो । अब यस प्लान्टले दैनिक ६० मेट्रिक टन (७ हजार ठूला सिलिन्डर) अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्नेछ ।

रूपन्देहीको रोहिणी गाउँपालिकास्थित परासी–भैरहवा सडकखण्डमा शिलान्यास गरिएको लिक्विड अक्सिजन प्लान्ट शंकर ग्रुपअन्तर्गतको शंकर ग्यास उद्योगले १ अर्ब रुपैयाँ लगानीमा स्थापना गरेको हो । अब यस प्लान्टले दैनिक ६० मेट्रिक टन (७ हजार ठूला सिलिन्डर) अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्ने सो उद्योगले जनाएको छ ।  आजको राजधानी दैनिकमा यो खबर प्रकाशित छ।