जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने
News Desk
Jun-15 , 2021 तारिख 12:25 बेलुका

काठमाडौँ — असार १, २०७८ ।
 
जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरूप चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सोमबार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनी राजदूतावासले जनाएको थियो।

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदान स्वरूप सो रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो। स्वास्थ्य, दिगो आर्थिक विकास र ऊर्जा दक्षता तथा नवीकरणीय ऊर्जाका लागि सो अनुदान प्रदान गरिएको थियो।

‘यो हस्ताक्षरले हामी दुई राष्ट्रहरूको राम्रो सम्बन्ध र नेपाली जनताका लागि साझा प्रयासको रूपमा लिएका छौं,’ नेपालका लागि जर्मनी राजदूत रोल्यान्ड सेफेरले भने, ‘हाम्रो स्वास्थ्य, दिगो आर्थिक विकासका क्षेत्र र उर्जासँगसँगै नेपाली जनताको विकास गर्न प्रतिबद्ध छौं।

हाम्रो द्विपक्षीय सहयोगका साथै हामी नागरिक समाजसँग महत्वपूर्ण भूमिका देख्छौं, जुन नेपालको कुनै पनि विकास प्रयासको अपरिहार्य हिस्सा हो।’ नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि सो रकम प्रदान गरिने दूतावासले विज्ञप्तिमार्फत् जनाएको थियो। आजको नागरिक दैनिकमा खवर छ ।