बाढी–पहिरो प्रभावितको राहत र उद्धारमा जुट्न नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताको खोजी र घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह
News Desk
Jun-16 , 2021 तारिख 07:38 बिहान

काठमाडौं — असार २, २०७८।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढी–पहिरो प्रभावितहरूको राहत र उद्धार कार्यमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

दाहालले बुधबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताको खोजी र घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह पनि गरेका छन् ।

प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दाहालले अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी चितवनमा नदी कटान रोक्न आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरेका छन् ।

‘चितवन लगायतका जिल्लामा बाढीबाट हुने कटान र डुबानका लागि तत्काल आवश्यक बजेटको प्रबन्ध गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्रीले हुन्छ भन्नुभएको छ,’ सापकोटाले भने ।

दाहालले मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगर्ने र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण–रोकथामका उपायको अनुभवसमेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको ठूलो क्षति भएको उल्लेख गरेका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको