उपचारका लागि दिल्ली जानुअघि खनालले पोखरेलसँग भने : 'पार्टी मिलाउनुस् कमरेड'
News Desk
Jun-16 , 2021 तारिख 09:31 बिहान

काठमाडौं — असार २, २०७८।

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । 

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई मंगलबार महासचिव पोखरेलले भेट गरेका थिए । 'पार्टी मिलाउनुस् कमरेड...' भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए ।

उनी बुधबार दिउँसो साढे १२ बजे नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका छन् । खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुनेछ ।

(कान्तिपुर दैनिक)
 

धेरै पढिएको