नेपाल–युके फाउण्डेशनद्वारा राहत वितरण
News Desk
May-31 , 2020 तारिख 12:27 बेलुका

काठमाडौँ, १८ जेठ । चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की शाखाले पोखरा आसपासका १०० परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–युके फाउण्डेशन’को आर्थिक सहयोगमा करिब रु तीन लाखको अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

बन्दाबन्दीका कारण दैनिक ज्यालादारी गर्न नपाएका मजदुर एवं विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको शाखाका अध्यक्ष अरुण गिरीले जानकारी दिएका छन् । “अत्यधिक समस्यामा परेका समूहको पहिचान गरी हामीले घरघरमै पुगेर खाद्यान्न वितरण गरेका हौँ”, उनले भने, “चिसिएको चुलो बाल्न फाउण्डेशनको आर्थिक सहयोग एवं शाखाको समन्वयमा राहत वितरण गरिएको हो ।”

“बन्दाबन्दीले चलचित्र क्षेत्र पनि निकै प्रभावित भएको छ यद्यपि समस्या सबैतिर उस्तै छ । हामीले मानवीयताका हिसाबले अप्ठ्यारोमा परेका सबै क्षेत्र र वर्गलाई राहत वितरण गरेका हौँ, यो कर्मले हामीलाई समाजसँग अझै नजिकिने मौका दिएको छ”, उनले भने । (रासस)