सम्वृद्धि पोखरेल अन्तर विद्यालयस्तरिय कविता प्रतियोगितामा प्रथम 
News Desk
Jun-16 , 2021 तारिख 05:14 बेलुका

काठमाडौं — असार २, २०७८।

अन्तर विद्यालयस्तरिय कविता प्रतियोगितामा भ्याली भ्यू वोर्डिङ स्कुल काठमाडौँकी छात्रा सम्वृद्धि पोखरेल प्रथम भएकी छिन् । 

ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सन काठमाडौँ जिल्लाको संयुक्त आयोजनामा मङ्गलबार भएको अन्तर विद्यालयस्तरिय प्रतियोगिताको परिणामअनुसार पोखरेल प्रथम भएकी हुन । 

यस्तै, दोस्रो हुनेमा पूर्णचण्डी वोर्डिङ स्कुल ललितपुरकी सानिया लामा र तेस्रो स्थान पिस प्वाइन्ट एकेडेमी ललितपुरका शुभम कार्कीले हासिल गरेका छन् । यस्तै सान्तवना पुरस्कार कामना आवासीय माविका अर्पन सिग्देल, पिक प्वाइन्ट वोर्डिङका सारिका लिम्बु, सेन्ट जेभियर स्कुलका इभाष पोखरेल र ग्रीनफिल्ड नेशनल स्कुलका सुस्मिता सापकोटाले प्राप्त गरेका  छन् । 

उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु आठ हजार, दोस्रो हुनेलाई रु छ हजार, तृतीय हुनेलाई रु चार हजार र सान्वना चार जनालाई जनही रु एक हजार र प्रमाणपत्र सहित मेडल प्रदान गरिएको छ । 

सो अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले भर्चुअल माध्यमबाट आयोजित कार्यक्रम माझ यस्ता प्रतियोगिताले बालबालिकाले ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरिन । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भनाई उनले राखिन् ।

कोषका अध्यक्ष बसन्तराज कार्की, नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष खड्गबहादुर बस्नेत, नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठलगायतले यस्ता प्रतियोगिताले ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले कार्यक्रम सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई संस्थागत र व्यक्तिगत रुपमा धन्यवाद व्यक्त गर्न चाहेको बताए ।