राहत लिएर मनाङ गए गण्डकीका मुख्यमन्त्री पोखरेल, साथमा मनाङे पनि
News Desk
Jun-17 , 2021 तारिख 09:36 बिहान

काठमाडौँ — असार ३, २०७८। 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ गएका छन  ।

पोखरेलसहित मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ र सांसद चिन्तबहादुर घले पनि औषधि, खाद्य सामग्री र टेन्ट लिएर मनाङ गएका मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरेर मुख्यमन्त्ती पोखरेलसहितको टोली मनाङ गएको हो ।

प्रदेशवासीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको उचित व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री पोखरेलले बताएका छन ।

अविरल वर्षापछि मनाङका लागि पछिल्ला केही दिन अन्यन्त कष्टकर भएको छ । डुवानपछि त्यहाँका तीन सय परिवार विस्थापित भएका छन् । वर्षापछि त्यहाँ ताचै जाने बेलिब्रिज, थोंचे–चिल्चेतिर जाने झोलुंगे पुल, नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बाढीले बगाएको थियो ।

यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नम्बर ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटल बगाएका थिए । मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि चामेका करिब ६० घर र तालगाउँका ४८ घरधुरी डुवानमा परेका थिए ।